Syangja Dainik Media
ट्याक्टरको ठक्करबाट एकजना घाइते

स्याङ्जामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा यहाँको कालीगण्डकी गाउँपालिका – ४ घरीपोखराकी ३५ वर्षीया भगवती पाण्डे रहेकी छन् ।

ठक्करबाट घाइते भएकी पाण्डेको टाउकोमा चोट लागेको छ । उनको कालीगण्डकी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

आइतबार बिहान करिब ११:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ५ कट्टीस्थित मिर्मी – भुस्टुङको भित्री सडकखण्डमा लु ४ त ३७९० नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा मिर्मीबाट भुस्तुङतर्फ जाँदै गरेको लु ९४ प ९४५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी निरीक्षक तिवारीले बताए ।

दुवै सवारीसाधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update