
गण्डकी प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले आयोजना गरेको सिर्जनात्मक लेखन प्रतियोगितामा अर्जुनचौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीका छात्र गगन ढकाल सर्वोत्कृष्ट बनेका छन् । उनी जिल्लामै सर्वोत्कृष्ट बनेका हुन् ।
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको भवानी माध्यमिक विद्यालयकी छात्रा पल्पसा घले द्धितीय र आँधीखोला गाउँपालिकाको शारदा मन्दिर माध्यमिक विद्यालयकी छात्रा रोशनी ढकाल तृतिय भएकी छन् । पुतलीबजार नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयकी छात्रा सृष्टि शर्माले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय तहमा पुगेर सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न गरेको थियो । सो प्रतियोगितामा उत्कृष्ट तीन जना विद्यार्थीहरु छनौट गरी जम्मा ३४ जना बिद्यार्थीहरुबीच बिहिबार “वातावरण संरक्षणमा मेरो दायित्व” शिर्षकमा जिल्ला स्तरीय प्रतियोगिता गरिएको थियो ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बालबालिकामा सकारात्मक भावना विकाससँगै बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरु समक्ष पुऱ्याउन, तार्किक क्षमताको विकास गर्नमा सिर्जनात्मक लेखन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा भएको सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, स्थानीय तहका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि र शिक्षकहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको मूल्याकंन शिक्षकद्धय अमृत रेग्मी र पुन्य प्रसाद पौडेलले गरेका थिए । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गरेका थिए ।