
स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । जिल्लाकै कान्छो पालिकाका रुपमा परिचित फेदीखोला गाउँपालिकाले स्थापना भएको नौ वर्षपछि आफ्नै भवनबाट काम थालेको हो ।
ठेक्का सम्झौताअनुरूप दुई वर्षमा सक्नुपर्ने भवन निर्माण कार्यले चार वर्षमा पूर्णता पाएपछि पालिकाले नयाँ भवनको प्रयोग गर्न पाएको हो । पालिकाले यहि जेठ १७ गतेदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
कम्पाउन्डसहित १० रोपनी जग्गामा तीन रोपनीमा भवन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित नवनिर्मित भवनका चार तलामा ३५ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् । पालिकाको नवनिर्मित भवनमा दुईवटा हल, लिफ्ट, १९ वटा शौचालय र एउटा अपाङ्गमैत्री शौचालयसमेत बनाइएको छ । जिल्लामै बनेका पालिकाका भवनमध्ये लिफ्टसहितको भवन फेदीखोला गाउँपालिकाको मात्रै हो ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जा जिल्लामा फेदीखोला गाउँपालिकाको भवन नै अन्तिम भवन हो । संघीयताभन्दा पहिलाका तीन नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटले पहिल्यै बनेका भवन प्रयोग गरेका छन् भने संघीयतासङ्गै बनेका दुई नगरपालिका र पाँच गाउँपालिकाले यसअघि भवन निर्माण गरिसकेका छन् ।
पालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार यसअघि साबिक फेदीखोला गाविसको भवन मर्मत गरेर कार्यालय र शाखाहरु सञ्चालन गरिएको थियो । प्रशासकीय भवन निर्माणपछि आफ्नै भवनमा सबै शाखाहरुबाट सेवा प्रवाह गर्न थालिएको पालिका अध्यक्ष सुवेदीले बताए ।
संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र फेदीखोला गाउँपालिकाले ६०/४० प्रतिशत लागतमा आठ करोड ५२ लाख २९ हजार रुपैयाँमा भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
किराँतेश्वर कन्स्ट्रक्सन एन्ड डिलिङ कम्पनी काठमाडौंले दुई वर्षमा सक्ने गरेर २०७७ फागुन ६ गते भवन निर्माणको सम्झौता गरेको थियो । गाउँपालिका इन्जिनियर तारानाथ पीडेलले निर्माण कम्पनीले दुईपटक म्याद थपेर दुई वर्ष म्याद गुजारेर भवन निर्माण सकेको बताए । निर्माण सकिए पनि निर्माण कम्पनीले एक करोड ३४ लाख ६१ हजार ८९० रुपैयाँ लिन बाँकी छ ।
पालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपनि निर्माण कम्पनीले हस्तान्तरण भने गरेको छैन ।