Syangja Dainik Media
फेदीखोला कृषि वन उद्यम सहकारी संस्थाको प्रारम्भिक साधारणसभा तथा अधिवेशन सम्पन्न

फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा तथा प्रारम्भिक अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले ताराबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र हर्कबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति सर्वसम्मत चयन गरेको छ ।

वन उद्यम, वन पैदावरको प्रशोधन तथा बजारीकरण पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली कार्यक्षेत्र भित्रका सामुदायिक वन उपभोक्ता समूह, साना किसानहरुलाई संगठित गराई सहकारीको माध्यमबाट जीवनस्तर उकास्ने आर्थिक, सामाजिक एवं सामुदायिक विकासमा जोड दिने उद्देश्यले सो सहकारीको स्थापना गरिएको हो ।

SDO_SYJ ADS

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष घनश्याम सुवेदीले निर्वाचित नयाँ समितिले यो अभियानलाई डगमग हुन नदिई सफल बनाउँदै फेदीखोलाबासी जनताको आर्थिक उन्नतिको मुहार फेर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष सुवेदीले आफ्नो एउटा सपना पूरा भएको र कार्यान्वयनमा देखिने जटिलताहरु सबै मिलेर सामना गर्दै जाने भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सचिवालय सदस्य दोब बहादुर कार्कीले फेदीखोलामा सूचीकृत भएका ४६ वटा सामुदायिक वनलाई समेटेर कृषि र उद्यमलाई जोड्दै यहाँको आर्थिक अवस्था मजबुत बनाउने उद्देश्य राखेर स्थापना गरिएको यो प्रकृतिको सहकारी नेपालमै पहिलो रहेको भन्दै यो अवधारणा अघि बढाउँदै निरन्तर लागिरहेकोमा पालिका अध्यक्ष सुवेदीको प्रशंसा गरे ।

उनले गाउँपालिकाले स्थानीय वन ऎन निर्माण गरेको र स्थानीय वन परिषद्को व्यवस्था गरेको निकै सराहनीय रहेको साथै केन्द्रले यो अवधारणा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष देउकुमारी गुरुङ, सामुदायिक वन महासंघ केन्द्रीय सचिवालय सदस्य दोब बहादुर कार्की, जनप्रतिनिधिहरु, सामुदायिक वन महासंघ गण्डकी प्रदेश महासचिव आशु विक, सहकारी संस्थाका शेयर सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम कृषि वन उद्यम सहकारी संस्था लिमिटेडका अध्यक्ष ताराबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेदीखोला गाउँपालिकाले पेश गरेको प्रस्तावित योजना कार्यान्वयन गर्नका लागि संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update