
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको गाउँ सभा सुरु भएको छ । सोमबार पालिकाको सभाहलमा गाउँ सभाको १७ औं अधिवेशन सुरु भएको हो ।
गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०८२ वडा नं. -५ का वडा अध्यक्ष बद्रीप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । गाउँपालिकामा बनेका ऐनहरूलाई समय सान्दर्भिक र स्थानीय आवश्यकताका आधारमा कार्यन्वयन योग्य बनाउन ऐन संशोधन गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी बताए ।
आजको गाउँ सभामा दुईवटा सार्वजनिक महत्त्वका प्रस्तावसमेत पेश भएका छन् । अर्जुनचौपारी गाउँपालिकाको संस्थागत विकास र आर्थिक विकासका लागि धार्मिक पर्यटन विषयक दुईवटा सार्वजनिक महत्त्वका प्रस्तावहरु पेश भएको गाउँ सभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।
यस्तै, सभामा छ वटा प्रतिवेदनहरु पेश भएका छन् । गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङले न्यायीक समितिको प्रतिवेदन, वडा नं. -१ का वडा अध्यक्ष रणबहादुर थापाले आर्थिक विकास समितिको प्रतिवेदन, २ का वडा अध्यक्ष धनबहादुर गुरुङले संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिको प्रतिवेदन, ३ का वडा अध्यक्ष सोभाकान्त काफ्लेले सामाजिक विकास समितिको प्रतिवेदन, ६ की वडा सदस्य ज्योती केसी ढकालले वातावरण तथा विपद व्यवस्थापन समितिको प्रतिवेदन र वडा अध्यक्ष नारायणप्रसाद ढकालले पूर्वधार विकास समितिको प्रतिवेदन र पेश गरेका थिए ।
स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम सबै रित पुर्याएर गाउँपालिकाले गाउँ सभा संचालन गर्न लागेको अध्यक्ष तिवारीले बताए । गाउँ सभामा शून्य समयकोसमेत अभ्यास गरिएको थियो ।
आजको शून्य समयमा गाउँ सभा सदस्यहरूले घरेलु मदिरा, महिला हिंसा, विपद् व्यवस्थापन, सन्तुलित र दिगो विकास, बजेट बाँडफाँडलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
असार १० गतेभित्र स्थानीय सरकारले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार गाउँपालिकाले गाउँसभा शुरु गरेको हो । गाउँ सभाको कार्यतालिका अनुसार असार ४ गते नीति तथा कार्यक्रम र ५ गते बजेट प्रस्तुत हुनेछ ।
प्रायः सबै स्थानीय तहहरूले कर्मकाण्डी रूपमा एकै दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गर्दै आएकोमा अर्जुनचौपारी गाउँपालिकाले कानुनबमोजिम संसदीय शैलीमा प्रजातान्त्रिक र समावेशी तरिकाले गाउँ सभा संचालन गर्न लागेको जनाएको छ । योसँगै स्याङ्जामा अर्जुनचौपारी गाउँपालिका गाउँ सभा गर्ने पहिलो पालिका भएको छ ।