Syangja Dainik Media
स्व. पंगेनीको स्मृति सभा तथा प्रतिष्ठानको प्रथम अधिवेशन, कांग्रेस नेता कोइराला स्याङ्जा आउने

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला यही साउन २० गते स्याङ्जा आउने भएका छन् । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्न डा. कोइराला स्याङ्जा आउन लागेका हुन् ।

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा तथा भीरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भीरकोट सिटिहलमा विशेष कार्यक्रमको तयारी गरिएको जिल्ला प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिए ।

वि.सं. २०१९ साल जेठ १९ गते स्याङ्जाको साविक खिलुङ्देउराली गाविस (हालको भीरकोट नगरपालिका–६) मा जन्मिएका स्व. कमल प्रसाद पंगेनीले वि.सं. २०३३ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए ।

संविधानसभा दोस्रो निर्वाचन २०७० मा स्याङ्जा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका पंगेनी २०६४ सालको पहिलो संविधान सभामा क्षेत्र नं. १ बाट एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

२०४२ सालमै नेविसंघको केन्द्रिय सदस्य बन्न सफल पंगेनी संगठन निर्माणमा विशेष ख्यातिप्राप्त नेता थिए । उनी वि.सं. २०६०, २०६७ र २०७२ मा गरी तीन कार्यकाल नेपाली कांग्रेस स्याङ्जाको सभापति बनेका थिए ।

वास्तविक निम्न मध्यम वर्गीय पृष्ठभूमिबाट आएका पंगेनी कुशल संगठक मात्र नभई स्पष्ट दृष्टिकोण भएका नेता मानिन्थे । अन्तरजातीय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनको वि.सं. २०७५ साउन २० गते हृदयघातका कारण असामयिक निधन भएको थियो । कांग्रेसको स्याङ्जा राजनीति र संगठनमा उल्लेखनीय योगदान दिएका स्व. पंगेनीको सम्झनामा हुन लागेको यो समारोहलाई ऐतिहासिक बनाउने तयारी गरिएको आयोजक पक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update