Syangja Dainik Media
विपीको सपना पूरा गर्न 'खुट्टा तान्ने' प्रवृत्तिको अन्त्य गर्नुपर्छः धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्रको चरित्र हत्या, खुट्टा तान्ने प्रवृत्ति, अन्तरघातको मानसिकता र सत्ता मोहको मानसिकता अन्त्य नगरेसम्म कांग्रेस बलियो नबन्ने चेतावनी दिएका छन् ।

स्याङ्जाको भीरकोटमा आयोजित स्व. कमलप्रसाद पंगेनीको सातौँ स्मृति सभा तथा स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा बोल्दै उपसभापति गुरुङले विपी कोइरालाले बनाएको लोकतान्त्रिक घर आज चुहिन थालेको उल्लेख गर्दै “अब त्यसलाई छाउनु पर्ने बेला आएको” बताएका हुन् ।

उनले भने, “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मेरुदण्ड हो । तर खुट्टा तानेर पहिलो बन्ने सोचले त्यो मेरुदण्ड कमजोर बनाएको छ ।” उनले विपीका विचारलाई बोकेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । “विपीको सपना थियो—न्याय, समानता र समृद्ध राष्ट्र । तर आज त्यो सपनालाई बोकेको पार्टीभित्रै खुट्टा तान्ने प्रतिस्पर्धा चलिरहेको छ,” गुरुङको टिप्पणी थियो ।

गुरुङले पार्टीको हरेक अधिवेशन र चुनावमा कांग्रेसभित्र घात र अन्तरघात हुने परिपाटी विकास भएको भन्दै यसले लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाएको धारणा राखेका थिए । “कसैको चरित्र हत्या गरेर राजनीति राम्रो हुन्छ भन्ने सोच गलत हो,” गुरुङले भने ।

२०४६ सालपछिका नेताहरूको सम्पत्ति सार्वजनिक रूपमा छानबिन हुनुपर्ने माग राख्दै गुरुङले पार्टीभित्रको शुद्धिकरण बिना कांग्रेसले जनविश्वास पुनः स्थापित गर्न नसक्ने उल्लेख गरेका थिए ।

स्व. पंगेनीको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै गुरुङले भने, “उहाँको जीवन र काम हेर्ने हो भने एक ग्रन्थ तयार गर्न सकिन्छ । यस्ता सच्चा योद्धालाई सम्मान गर्न सक्नुपर्छ, खुट्टा तान्ने काम रोक्नुपर्छ ।”

कार्यक्रममा अन्य कांग्रेस नेताहरूले समेत स्व. पंगेनीको योगदानको चर्चा गर्दै पार्टीभित्र सुधारको खाँचो औंल्याएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update