
नेपालको क्रिकेट इतिहासमा अद्वितीय छाप छोडेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेको जीवनकथालाई अर्जुनचौपारी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।
यस पहलले स्थानीय विद्यार्थीलाई आफ्नै जन्मभूमिबाट विश्व स्तरमा सफल भएको प्रेरणादायी व्यक्तित्वको जीवन र संघर्षबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर मिल्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको भनाइ छ ।
वि.सं. २०५७ साउन १८ गते स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका –५ आरुचौरको तालपोखरीमा जन्मिएका सन्दीप ‘सन्दे कान्छा’ उपनामले परिवार र मित्रमाझ चिनिन्थे । पिताको भारतीय रेल्वे सेवाका कारण बाल्यकाल भारतमै विताएका उनले त्यहीँ क्रिकेटसँग पहिलो परिचय पाए । कक्षा चारसम्म भारतमा अध्ययन गरेपछि उनी नेपाल फर्किए र चितवनमा बसोबास गर्दै चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्काको मार्गदर्शनमा क्रिकेट प्रशिक्षण लिए ।
सन् २०१६ मा नामिबिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका सन्दीपले आफ्नो बलिङ कला र रणनीतिक क्षमताबाट छिट्टै विश्व क्रिकेटको ध्यान खिचे । विशेषगरी दायाँहाते लेग स्पिन बलिङमा निपुण उनले ४२ खेलमै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान कायम गरे ।
नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा समेत सन्दीपको उपस्थिति उल्लेखनीय रह्यो । उनी आईपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट मैदानमा उत्रिए । साथै, बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएई लगायतका टिमसँगको खेलमा निर्णायक प्रदर्शन गर्दै उनले नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गराए ।
अर्जुनचौपारी गाउँपालिकाले उनको यो अद्वितीय यात्रा र योगदानलाई स्थानीय पाठ्यक्रममा आधारित कक्षा ४ को हाम्रो अर्जुनचौपारी भन्ने पाठ्यपुस्तकमा समावेश गरिएको अध्यक्ष तिवारीको भनाइ छ । स्थानीय पाठ्यपुस्तकमा समावेश गरिएको क्रिकेटर लामिछानेको जीवनकथा गाउँपालिका अध्यक्ष तिवारीले नै लेखेका हुन् ।
यसले विद्यार्थीलाई खेल र अनुशासनको महत्त्व मात्र होइन, आफ्नो सपना पूरा गर्न धैर्य र परिश्रम कस्तो हुनुपर्छ भन्ने प्रेरणा पनि दिने विश्वास लिइएको छ ।
साथै, तिवारीले सन्दीप लामिछानेको सम्मानमा उनी जन्मिएकै वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको जानकारी दिए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण गर्न थालिएको छ ।
समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यो निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएर क्रिकेट रङ्गशाला निर्माण सुरू गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।