
नेपाली काँग्रेसका सह–महामन्त्री तथा संघीय सांसद जिवन परियारले पार्टीको संगठन, नीति र कार्यशैलीलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । स्याङ्जाको वालिङ् नगरपालिका र दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार नीति अद्यावधिक गर्न पार्टी नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।
परियारले बहुदलीय व्यवस्थापछि ल्याइएको ‘एक विद्यालय, एक शिक्षिका’ कार्यक्रमको महत्व नागरिकसम्म प्रभावकारी रूपमा नपुगेको स्वीकार गर्दै, महिलालाई अग्रसर बनाउन काँग्रेसले ऐतिहासिक योगदान दिएको दाबी समेत गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस वालिङ् नगर सभापति नेत्रप्रसाद पाण्डेले संविधान २०७२ ले महिलालाई दिएको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न काँग्रेस कटिबद्ध रहेको बताउँदै भने, “जय नेपाल भन्न डराउने अनि पद नपाएपछि विद्रोह गर्ने प्रवृत्ति त्यागौं ।”
अन्तरक्रियामा बोल्दै नगर कार्यपालिका सदस्य सिता विकले पार्टीभित्र महिला जनप्रतिनिधि नेतृत्वमा पुग्न कठिनाइ सामाजिक दृष्टिकोण, आर्थिक दबाब र प्रशिक्षणको अभावका कारण भएको बताइन् ।
यस्तै, नगर सदस्य शान्ता थापाले “इतिहासले फुर्काएको र वर्तमान नेतृत्वले शोषण गरेको” चुनौतीको उल्लेख गर्दै, माथिल्लो तहका नेताहरूको दृष्टिकोण परिवर्तन नगरेसम्म महिलाको भूमिका सिमित रह्ने धारणा व्यक्त गरिन् ।
महासमिति सदस्य तथा दलित संघ जिल्ला अध्यक्ष लिलबहादुर रनपाल, पूर्व कार्यपालिका सदस्य गीता रनपाल, नगर उपसभापति सिता थापालगायतले पनि काँग्रेसले महिलाप्रति थप उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
दलित महिला केन्द्रका फिल्ड अधिकृत रितेश सांशकरका अनुसार यही कार्यक्रममा नेकपा एमालेसहित जिल्लाका सबै राजनीतिक दलसँग पनि अन्तरक्रिया हुने छ । कार्यक्रम आज बुधबार सम्पन्न हुनेछ ।