Syangja Dainik Media
प्रधानाध्यापक विवादमा पञ्चकन्या मावि संकटमा, प्रधानाध्यापकलाई कारबाही

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको पञ्चकन्या माध्यमिक विद्यालय पछिल्ला दिनमा विवादको केन्द्र बनेको छ । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद तिवारीमाथि शिक्षा ऐन विपरीत निजी विद्यालयसँग संलग्न भएको आरोप लागेपछि शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले कारवाही गरेको हो ।

स्थायी शिक्षकको हैसियतमा रहँदै उनले नजिकैको शितलादेवी इङ्लिस बोर्डिङ स्कुल प्रा.लि.मा ५५ प्रतिशत शेयर धनी बनेर परामर्शदाता/विशेषज्ञको भूमिकामा संलग्न रहनु शिक्षा ऐन, २०२८ को स्पष्ट उल्लंघन भएको ठहर गरिएको छ ।

तिवारीले गत माघ ८ गतेदेखि शेयर त्यागेको दाबी गरे पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा सोको पुष्टि नभएको इकाइको भनाइ छ । यही कारण शिक्षा नियमावली, २०५९ अनुसार कारवाही गरिएको शिक्षा इकाइ प्रमुख (उपसचिव) विश्वराज आचार्यले जानकारी दिए । आचार्यले आगामी दिनमा शिक्षा ऐन, नियमावली र प्रचलित कानुन विपरीत कुनै पनि गतिविधि नगर्न चेतावनीसमेत दिएका छन् ।

विद्यालयमा यो घटनापछि वातावरण तनावग्रस्त बनेको छ । विद्यार्थी अभिभावकबीच “विद्यालयको नेतृत्वमै प्रश्न उठ्ने अवस्था आएको” भन्दै चासो व्यक्त गरिएको छ । कतिपयले विद्यालयको मर्यादा नै प्रभावित भएको टिप्पणी गरेका छन् ।

शिक्षक संघ–संस्थाबाट पनि प्रधानाध्यापकजस्तो जिम्मेवार पदमा रहेकाले कानुनी प्रावधानको अवहेलना गर्नु दुःखद भएको प्रतिक्रिया आएको छ । “विद्यालय भनेको समाजकै विश्वासको आधार हो, त्यहाँको नेतृत्वमा शंका उठ्नु सबैका लागि चिन्ताको विषय हो,” एक शिक्षकले भने ।

यस प्रकरणले विद्यालयको भविष्य, विद्यार्थीको पठनपाठन र अभिभावकको भरोसामा कस्तो असर पार्छ भन्ने प्रश्न अहिले सामुदायिक वृत्तमा मुख्य बनेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update