Syangja Dainik Media
अर्जुनचौपारीको प्रशासनिक यात्राको अन्त्य: कौशल पाण्डेलाई भावनात्मक विदाई

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेलाई गाउँपालिकाले भावनात्मक विदाई गरेको छ । झण्डै एक वर्षसम्म अर्जुनचौपारीको प्रशासनिक नेतृत्व सम्हाल्दै विकास र सुशासनमा विशेष योगदान दिएका पाण्डे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौंमा सरुवा भएका हुन् ।

विदाई समारोहमा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पाण्डेको योगदानलाई "अतुलनीय" भन्दै उच्च सम्मानका साथ विदाई गरे । उनले भने, "प्रशासनिक क्षेत्र मात्र नभई विकासका सबै खण्डमा पाण्डेले देखाउनुभएको सक्रियता अर्जुनचौपारीको लागि प्रेरणादायी छ । पहिलो कर्मथलो भएर पनि उहाँको विकासप्रतिको चिन्ता असाधारण रह्यो ।"

अध्यक्ष तिवारीले थपे, "गाउँपालिकाले उहाँको कामलाई विशेष रूपमा सम्झिरहनेछ । पाण्डेले सधैं साझा व्यक्तिको हैसियतमा सबैलाई समेटेर अघि बढ्नुभयो ।"

त्यसैगरी, आफ्नो कार्यकालको स्मरण गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले अर्जुनचौपारीको विकासमा निरन्तर साथ र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले भने, "सरुवा भएर गए पनि अर्जुनचौपारी मेरो मन र सोचमा सदैव रहनेछ । यहाँका जनप्रतिनिधिहरु आगामी दिनमा अझै उच्च जिम्मेवारीमा पुगेर सहकार्य गर्ने अवसर पाऊन् भन्ने मेरो अपेक्षा छ ।"

२०८१ असोज १ गतेदेखि अर्जुनचौपारी गाउँपालिकाको प्रशासनिक जिम्मेवारी सम्हालेका पाण्डेले २०७३ सालबाट खरिदार पदबाट निजामती सेवामा आफ्नो पाइला अगाडि बढाएका थिए ।

कर्मचारीको नियमित प्रक्रिया अनुसार भएको सरुवामा उनलाई गाउँपालिकाले असल नेतृत्वकर्ता र साझा संयोजकका रूपमा विदाई गरेको हो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालको स्वागत
अर्जुनचौपारी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आएका युवराज अर्याललाई स्वागत गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, जनप्रतिनिधि, कार्यपालिका शाखा प्रमुख तथा कर्मचारीहरूले कार्यालयको तर्फबाट अर्याललाई स्वागत गरेका हुन् ।

Yuvraj-Aryal-Swagat-Arjp-1756110008.jpg

यसअघि जिल्ला प्रशासन कार्यालय मनाङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेका अर्यालले निजामती सेवामा लामो अनुभव सँगाल्दै आएका छन् । स्वागतपछि उनले अर्जुनचौपारीमा सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन पारदर्शी समन्वयमार्फत काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, विकास निर्माण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष तिवारीले अर्याललाई स्वागत गर्दै कर्मचारी संयन्त्रको प्रभावकारी परिचालनमार्फत अर्जुनचौपारीको विकास प्रक्रियालाई गतिशील बनाउन जोड दिए । उपाध्यक्ष गुरुङले समुन्नत अर्जुनचौपारी निर्माणका लागि समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै योगदान गर्न आग्रह गरिन् ।

कार्यालयले पनि अर्यालको विगतको अनुभव र अर्जुनचौपारीको प्राकृतिक सौन्दर्यताले थप ऊर्जा दिँदै सेवाप्रति समर्पित हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update