
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट जेन–जेड आन्दोलनमा देखाइएको दमन र आक्रमणप्रति तीव्र विरोध गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको बताएका छन् ।
“नागरिकले उठाउने शान्तिपूर्ण आवाजलाई दबाउने अभ्यासले लोकतन्त्र कमजोर हुन्छ,” तिवारीले भने, “शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको आत्मा हो, त्यसको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो ।”
आन्दोलनका क्रममा घाइते र मृतकका परिवारलाई तत्काल राहतका लागि अर्जुनचौपारी गाउँपालिकाको सामाजिक उत्तरदायित्व कोषमार्फत पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ । साथै, आवश्यक अन्य सहयोग पनि गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएकालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक आत्माप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकाले नेपाल सरकारसमक्ष चार बुँदे माग समेत राखेको छ । आन्दोलनका क्रममा भएका घटनाको तत्काल, निष्पक्ष र स्वतन्त्र छानबिन, दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय, घाइतेहरूको उपचार खर्च र पुनर्स्थापनाको जिम्मा राज्यले लिने र नागरिकका शान्तिपूर्ण आन्दोलनमाथिको बल प्रयोग तुरुन्त अन्त्य गर्ने जस्ता माग राखेको छ ।
अध्यक्ष तिवारीले अर्जुनचौपारी मात्र नभई सिङ्गो मुलुकले स्वतन्त्रता, न्याय र मानव अधिकारको पक्षमा एकजुट भएर उभिनुपर्ने आवश्यकता औंल्याएका छन् ।