
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं –१ गड्यौलीखोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीहरुलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी यहाँ यस्तो पार्क बनाइएको हो ।
धेरै पालिकाले ठूला – ठूला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट खर्च गरिरहँदा अर्जुनचौपारीले देशैभर प्रचार हुने गरेर नयाँ खालको म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरेको हो ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशको ७० प्रतिशत र अर्जुनचौपारी गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पार्क निर्माण गरिएको हो । एक वर्षमा म्याथम्याटिकल र एक वर्षमा बोटानिकल गरेर दुई वर्षमा जिल्लमै पहिलोपटक पार्क निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यालयमा प्रयोगात्मक पढाई कम हुने भएकोले देशभरका विद्यार्थीहरु अवलोकन गराउने उद्देश्यले फरक शैलीको पार्कको निमार्ण गरिएको बताए ।
यहाँ दुईवटा गजेबो (हावा घर), गड्यौली संरचना निर्माण, एक्सर्साइज पार्क, सुरक्षा उपकरण सीसीटीभी, बत्ती जडान गरेर व्यवस्थित गराइएको छ ।
यस्तै, गड्यौलीखोलामा स्थानीय जातका माछाहरु राखिएका छन् भने विभिन्न प्रजातिका बोट बिरुवाहरु रोप्ने, गड्यौलीखोला छेउमा फुटपाथ, गार्डेन ब्रिज, पाई गेट निर्माण गरिएको छ ।
पार्कमा दुबो लगाउने तथा विद्यार्थीका पढाईसँग सहयोग पुग्ने ६० वटा चित्र बनाइएको छ । यहाँ दुईवटा गड्यौलीखोला वार - पार गर्न दुईवटा छोटा पुल बनाइएको छ भने राती पार्क नै बिजुली बत्तीले झिलीमिली पारिएको छ ।
अहिले पार्कमा पालिकाभित्रका विद्यार्थीहरु अवलोकनको लागि आउन थालेको छन् भने अभिभावक समेत यहाँ हेर्नको लागि आउने गरेका छन् ।
१७० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो भने निर्माणमा एक करोड ५१ लाख ४० हजार ७०३ रुपैयाँ ८० पैसा खर्च भएको छ ।
देशभर फरक ढंगले चिनाउन र पालिकालाई नयाँ ब्राण्ड बनाउने लक्ष्यसहित पहिलोपटक म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको वडा अध्यक्ष रणवहादुर थापाले बताए ।
यहाँ अब अर्जुनचौपारी गाउँपालिकालाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न गड्यौलीखोला र पञ्चकन्यालाई प्याकेजका रुपमा चिनाउने काम गर्ने थापाले बताए ।
अर्जुनचौपारी गाउँपालिकाले जस्तै अन्य पालिकाहरुले पनि विद्यार्थी र पर्यटक अध्ययन गर्ने पाठशालाको रुपमा यस्ता पार्क निर्माण गर्न सके सिकाइमात्र होइन पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ ।