Syangja Dainik Media
अर्जुनचौपारीमा आयुर्वेदिक औषधि उत्पादनको सुभारम्भ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नो आयुर्वेद शाखामार्फत पहिलो पटक आफ्नै स्तरमा आयुर्वेदिक औषधि उत्पादन कार्यको एक कार्यक्रमकाबीच औपचारिक शुभारम्भ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले औषधि उत्पादनका लागि आवश्यक मेसिनको उद्घाटन गर्दै भने, “आयुर्वेद हाम्रो मौलिक पहिचान हो । गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्न सक्नु गर्वको कुरा हो । यसले स्वास्थ्य सेवा सुदृढ गर्नुका साथै गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछ ।”

अध्यक्ष तिवारीले थपे, “पालिकाभित्र रहेका औषधियोग्य जडिबुटीको पहिचान र प्रवर्द्धन गर्दै औषधि उत्पादन गर्न सक्दा पालिकाबासीको आय आर्जनमा समेत उल्लेखनीय योगदान पुग्नेछ । जनताको स्वास्थ्यको रक्षा गर्न र रोगको उपचारका लागि हामी निरन्तर प्रयत्नशील रहनेछौं ।”

उनका अनुसार, गाउँपालिकाले यस कार्यमार्फत स्थानीय स्रोतसाधनको सदुपयोग, रोजगारी सिर्जना र स्वदेशी ज्ञानको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

उपाध्यक्ष सपना गुरुङले आयुर्वेद शाखाको यो पहललाई गाउँपालिकाको दीर्घकालीन स्वास्थ्य रणनीतिसँग मेल खाने महत्वपूर्ण कदम बताउँदै भनिन्, “गाउँमै औषधि उत्पादन सुरु हुनु दीर्घकालीन दृष्टिले ठूलो उपलब्धि हो । यसलाई अझ सशक्त र प्राविधिक रूपमा सबल बनाउने हाम्रो प्रतिबद्धता छ ।”

प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले स्वास्थ्य संस्थाका कर्मचारीहरू बिदाको दिनसमेत सेवामा खटिने गरेको जानकारी दिँदै पालिकाले स्वास्थ्य सेवामा उच्च प्राथमिकता दिएको बताए ।

त्यस्तै, वडा नं. १ का अध्यक्ष रणबहादुर थापाले आयुर्वेदिक पद्धति र पोषण कार्यक्रममार्फत जनस्वास्थ्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आयुर्वेद शाखा प्रमुख ललित थापाका अनुसार, सुरुवाती चरणमा सामान्य जडिबुटीजन्य औषधि उत्पादन सुरु गरिनेछ भने आगामी दिनमा थप प्रभावकारी औषधिहरू उत्पादन गर्ने योजना बनाइएको छ ।

प्रारम्भिक चरणमा आमलकि चुर्ण, हरितकि चुर्ण, अस्वगन्धा चुर्ण, अर्जुन बीज चुर्ण लगायतका एकल औषधिहरू उत्पादन गरिनेछ । त्यस्तै, अन्य संयुक्त औषधिहरूमा त्रिफला चुर्ण, सितोपलादि चुर्ण, त्रिकटु चुर्ण जस्ता औषधिहरू निर्माण गरिनेछ । जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै वातसामक तेल समेत यहीँ उत्पादन गरिने योजना बनाइएको आयुर्वेद शाखा प्रमुख थापाले बताए ।

उनका अनुसार स्थानीय स्तरमा पाइने हर्रो, बहर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी आदि जस्ता एकल जडिबुटीहरूको खोज र खरिद गरेर औषधि निर्माण गरिनेछ । साथै, गाउँमा नपाइने जडिबुटीहरू बाहिरबाट खरिद गरी चुर्ण औषधि उत्पादन गरिनेछ । ती औषधिहरूलाई गाउँका टोल–टोलमा गएर स्थानीय जनताको आवश्यकता अनुसार वितरण गरिने योजना समेत रहेको छ ।

आयुर्वेद शाखा प्रमुख ललित थापाका अनुसार गाउँपालिकाले हप्तैपिच्छे प्रत्येक टोल र विद्यालयमा योग, ध्यान तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उनले यसलाई स्वास्थ्यप्रति सचेत समाज निर्माण गर्ने दिगो प्रयासको रूपमा वर्णन समेत गरे ।

स्थानीयवासीहरूले पनि यस पहललाई गर्वको विषयका रूपमा लिँदै भनेका छन् — “आफ्नै गाउँमा औषधि उत्पादन सुरु हुनु हाम्रो लागि ऐतिहासिक कदम हो । यसले स्थानीय जडिबुटीको मूल्य बढाउने मात्र होइन, गाउँकै स्वास्थ्य सेवामा सहजता ल्याउनेछ ।”

यससँगै अर्जुनचौपारी गाउँपालिकाले स्वदेशी ज्ञान, आत्मनिर्भरता र जनस्वास्थ्य सुदृढीकरणको दिशामा ऐतिहासिक कदम चालेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update