Syangja Dainik Media
गल्याङ बजारका अव्यवस्थित तार १५ दिनभित्र हटाउन निर्देशन

स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्र वर्षौंदेखि झुण्डिइरहेका अव्यवस्थित तार हटाउन कडा कदम चाल्दै सम्बन्धित निकायलाई १५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

नगर क्षेत्रका मुख्य सडक र बजार लाइनमा विद्युत्, टेलिफोन, केबल तथा इन्टरनेटका तार लत्रिँदै झुण्डिएको अवस्थाले नगरको सौन्दर्य बिग्रिनुका साथै जोखिम बढिरहेको भन्दै पालिकाले तत्काल सुधारको पहल गरेको हो ।

अव्यवस्थित तारले दुर्घटना र आगलागी दुवै खतरा बढाएको गल्याङका नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “गाउँदेखि सहर सबै ठाउँमा तार झोल्मोल छन्, अब यसलाई व्यवस्थित बनाउनु हाम्रो पहिलो प्राथमिकता हो,” भट्टराईले बताए ।

तारको अस्तव्यस्तताले सडक छेउछाउ कुरुप देखिनुका साथै आगलागी हुनसक्ने सम्भावना रहेको स्थानीयले पनि गुनासो गरेका छन् । बजार व्यवस्थित गर्न ‘बसौं बसौं लाग्ने गाउँ र सहर : समुन्नत र समृद्ध गल्याङ’ अभियानसहित पालिकाले काम अघि बढाएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update