Syangja Dainik Media
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा आएका छन् । ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर भेटघाट गरेका छन् । स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्याङ्जाका दुवै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले सक्षम र प्रतिस्पर्धी उम्मेदवार अघि सारेको दाबी गरेका छन् ।

उनका अनुसार यो निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई ‘नयाँ विकल्प’ को परीक्षा हो । ‘यसपटक आफ्ना आस्थाका दल बिर्सेर एक पटक हामीलाई मत दिनुहोस् । पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्,’ उनले भीडतर्फ फर्किँदै दोहोर्‍याए, ‘देश र आफ्ना सन्तानको भविष्य सम्झेर रास्वपालाई एक मौका दिनुपर्छ ।’

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने मतदानमा विजयी गराउन रास्वपा सभापति लामिछानेले मतदातासँग अपिल समेत गरेका छन् ।

‘अग्रिम बुकिङ’ जस्तै माहोल देखिएको टिप्पणी गर्दै लामिछानेले स्याङ्जा परिवर्तनको पक्षमा उभिन तयार छ कि छैन भन्ने प्रश्न उछालेका थिए । उनका भनाइमा, आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले मतदाताले सोचेर निर्णय गर्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update