Syangja Dainik Media
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा
तस्बिर: कालीगण्डकी गाउँपालिका, स्याङ्जा

स्याङ्जाका स्थानीय तहहरूको संस्थागत क्षमता कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक भएको छ । ११ वटा पालिका रहेको जिल्लामा कालीगण्डकी गाउँपालिका पहिलो स्थानमा छ भने वालिङ नगरपालिका दोस्रो स्थानमा रहेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो । दोस्रो स्थानमा रहेको वालिङ नगरपालिकाले ७६.३३ प्रतिशत अंक ल्याएको छ । त्यस्तै, फेदीखोला गाउँपालिका ७६.०२ प्रतिशतसहित तेस्रो स्थानमा परेको छ ।

अन्य स्थानीय तहमध्ये पुतलीबजार नगरपालिकाले ७५.३१ प्रतिशत अंक पाएको छ भने बिरुवा गाउँपालिकाले ७४.६८ प्रतिशत अंक प्राप्त गरेको छ । आँधीखोला गाउँपालिकाको ७२.८३ र अर्जुनचौपारी गाउँपालिकाको ६९.६९ प्रतिशत अंक रहेको छ ।

त्यसैगरी, भीरकोट नगरपालिकाले ६७.२१ प्रतिशत अंक ल्याएको छ । गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अंक प्राप्त गरेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार १७ वटा सूचकका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ । बजेट असार १० भित्र पेश गरिएको छ कि छैन, असार मसान्तभित्र पारित गरिएको अवस्था, प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आयव्ययको प्रक्षेपण समयमै सम्बन्धित मन्त्रालयमा पेश गरे/नगरेको तथा वार्षिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता सूचकलाई आधार मानिने गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update