Syangja Dainik Media
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले खेलकुद क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । उनले खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने आधार तयार गर्ने धारणा समेत राखेका छन् ।

कार्यक्रममा जिल्ला शिक्षा विकास अधिकारी विश्वराज आचार्य, पुतलीबजार नगरपालिकाका शिक्षा प्रमुख बाबुराम बराल लगायतले पनि खेलकुदको महत्वबारे आआफ्ना भनाइ व्यक्त गरेका थिए ।

प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ ।  एथलेटिक्सअन्तर्गत ट्र्याक तथा फिल्ड, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो र उसु समावेश छन् भने भलिबल र कबड्डीमा छात्र तथा छात्रा दुवै तर्फका खेलहरू सञ्चालन भइरहेका छन् ।

प्रतियोगितामा जिल्लाभरिका १० पालिकाका करिब नौ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा व्यक्तिगत तथा समूहगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बागलुङमा हुने प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि छनोट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update