Syangja Dainik Media
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नवग्रह मन्दिर परिसरमा महाशिवरात्रिको अवसर पारेर आयोजित प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा गल्याङ नगरपालिका–२ को रामनदीधाम संस्कृत गुरुकुलमले प्रथम स्थान हात पारेको छ ।

पालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका १३ विद्यालयको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै गुरुकुलमले १२ विद्यालयलाई पछि पार्दै नगद २५ हजार रुपैयाँसहित उपाधि जित्न सफल भयो ।

अर्जुनचौपारी–२ को अमरज्योति मावि, लामडाँडा द्वितीय बन्दै १६ हजार रुपैयाँ प्राप्त गर्‍यो भने अर्जुनचौपारी–१ को अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तृतीय स्थानमा रहँदै १० हजार रुपैयाँ हात पार्न सफल भयो ।

नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले परम्परागत संस्कृति जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले भजनगीत प्रतियोगिता आयोजना गरिएको बताए ।

पुरस्कार वितरणमा बोल्दै उनले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण मात्र नभई जिल्लाभरका विद्यालयका विद्यार्थीबीच चिनजान र अनुभव आदान–प्रदान गर्ने अवसर समेत सिर्जना गरेको उल्लेख गरेका छन् ।

प्रतियोगितामा गल्याङ, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिका क्षेत्रका विद्यालयले भजनमार्फत आ–आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए । धार्मिक वातावरणबीच विद्यार्थीहरूले प्रस्तुत गरेका भजनले दर्शकलाई आध्यात्मिक भावनामा डुबाएको थियो ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित लोक तथा भजन गायक पशुपति शर्माले विशेष प्रस्तुति दिएका थिए । उनले भगवानप्रति समर्पित भजनसँगै लोकप्रिय गीतहरू प्रस्तुत गर्दा मन्दिर परिसरमा उपस्थित भक्तजन झुम्मिएका थिए । राष्ट्रिय कलाकार घनश्याम रिजाल, अर्जुन गैह्रे र गोपाल जिटीले पनि सांगीतिक प्रस्तुति राख्दै माहोल तताएका थिए ।

भजन प्रतियोगितासँगै भजन कन्सर्ट, सांगीतिक प्रस्तुति तथा शिव ताण्डव डिजे साँझसमेत आयोजना गरिएको थियो । गाउँपालिकाका अनुसार कार्यक्रमले वृद्धवृद्धा मात्र नभई युवा र बालबालिकालाई पनि आध्यात्मिक तथा सांस्कृतिक गतिविधिमा आकर्षित गरेको छ ।

पञ्चकन्या तथा जलवराह धार्मिक वन, केटीचौर (सिमलचौर) मा अवस्थित नेपालकै पहिलो नवग्रह मन्दिरमा यस अवसरमा नौ लाख ९९ हजार ९ सय ९९ दिप प्रज्वलन गरिएको थियो ।

करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक वनभित्र नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । यहाँ रहेको सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने प्रत्येक वर्ष गणेश चतुर्थीका दिन मात्र सर्वसाधारणका लागि अवलोकन खुला गरिने र सो दिन पालिकास्तरमै सार्वजनिक बिदा दिइने जनाइएको छ ।

गत वर्ष फागुन ६ गतेदेखि १४ गतेसम्म महाशिवरात्रिकै अवसरमा प्राण प्रतिष्ठा तथा अनुष्ठान पश्चात् विधिवत् रूपमा मन्दिर स्थापना भएपछि यसले जिल्लाकै महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा पहिचान बनाउँदै गएको छ ।

विभिन्न ठाउँबाट भक्तजनको आगमन बढ्दो क्रममा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए । उनका अनुसार एक वर्षको अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरिसकेका छन् ।

नवग्रह मन्दिर निर्माणसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update