Syangja Dainik Media
आक्रमणको २५ वर्षपछि बन्यो वालिङ वडा प्रहरी कार्यालयको नयाँ भवन

आजकै दिन अर्थात् २०५८ साल मंसिर ८ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणबाट क्षति पुगेको वडा प्रहरी कार्यालय वालिङको भवन २५ वर्षपछि पुनर्निर्माण भएको छ । आक्रमणबाट क्षति पुगेको पुरानो भवन भत्काएर सङ्घीय सरकारले नयाँ भवन निर्माण गरेको हो ।

आक्रमणपछि क्षतिग्रस्त भवन मर्मत गरेर प्रहरीले त्यहीँबाट सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माण सुरु भएपछि भने कार्यालयसँगै रहेको अर्को भवनबाट प्रहरी सेवा सञ्चालन हुँदै आएको थियो ।

सपना सुन्दरी जेभी, रूपन्देहीले २०८२ असोज ३० गते सरकारसँग तीन करोड ७० लाख ५९ हजार ६५६ रुपैयाँ ६ पैसा लागतमा भवन निर्माणको सम्झौता गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको कम्पनीले निर्धारित समयमै भवन निर्माण पूरा गरेको हो ।

दुई हजार आठ सय वर्गफिट क्षेत्रफल (आठ आना दुई पैसा जग्गामा) निर्माण भएको भवन तीन तलाको छ । निर्माण कम्पनीले मुख्य भवनसँगै हावाघर, पानी ट्याङ्की र सेफ्टी ट्याङ्कीसमेत बनाएको छ । नयाँ भवनमा कार्यालय प्रमुखको कक्ष, थुनुवा तथा हिरासत कक्ष र कार्यालय प्रमुखको निवास रहने व्यवस्था गरिएको छ ।

भवन निर्माण सम्पन्न भए पनि नयाँ संरचनाबाट प्रहरी सेवा सुरु भइसकेको छैन । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले आवश्यक व्यवस्थापनको काम बाँकी रहेकाले अबको एक महिनाभित्र नयाँ भवनबाट सेवा सुरु गरिने बताए ।

अहिले साँघुरो ठाउँबाट धेरै सेवा दिनुपरेको उल्लेख गर्दै उनले नयाँ भवन सञ्चालनमा आएपछि प्रहरीको कामकारबाही र नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताए ।

वालिङमा २०२१ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरेर प्रहरी सेवा सुरु गरिएको थियो । त्यसपछि प्रहरी चौकी र इलाका प्रहरी कार्यालय हुँदै यो कार्यालय वडा प्रहरी कार्यालयका रूपमा विकास भएको हो ।

वडा प्रहरी कार्यालय वालिङको कार्यक्षेत्रमा वालिङ, गल्याङ र भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिका पर्छन् । यस कार्यालयअन्तर्गत १३ वटा प्रहरी कार्यालय तथा युनिट रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update