Syangja Dainik Media
दुई कार्यकाल पालिका हाँकेका थापा संघीय यात्राको दौडमा

स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापा संघीय राजनीतितर्फ उक्लिने तयारीमा छन् । स्थानीय तहमा दुई कार्यकाल नेतृत्व सम्हालेका उनी यसपटक संघीय संसदको यात्रा तय गर्ने दौडमा देखिएका छन् ।

५७ वर्षीय थापा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । स्नातक तहसम्म अध्ययन गरेका उनी लामो समयदेखि नेकपा एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय रहँदै आएका नेता हुन् । स्थानीय राजनीतिमा व्यावहारिक र परिणाममुखी काम गर्ने नेताका रूपमा उनको पहिचान बनेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थापा २०७९ मा पुनः अध्यक्षमा दोहोरिए । दोहोरिएको जनविश्वासलाई उनी आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो पूँजी मान्छन् । अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले विकास निर्माण, कृषि व्यवसाय प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएका थिए ।

विशेषगरी कृषि उपजलाई मूल्य श्रृङ्खलासँग जोड्ने प्रयास, केला लगायत स्थानीय कच्चा पदार्थ प्रयोग गरी हस्तकला उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रम र रोजगारी सिर्जनामा केन्द्रित योजनाहरू उनको कार्यकालका उल्लेखनीय पहलका रूपमा लिइन्छन् । यस्ता कार्यक्रमले स्थानीय स्तरमा आम्दानी बढाउन मद्दत पुगेको स्थानीयको भनाइ छ ।

थापा विवाद र तीव्र आलोचनाबाट प्रायः टाढै रहे । संगठनात्मक मजबुती, स्थिर राजनीतिक पृष्ठभूमि र स्थानीय तहको नेतृत्व अनुभव उनको मुख्य बल मानिन्छ । विकासमुखी छवि बनाएका उनी अब त्यही अनुभवलाई संघीय संसदसम्म विस्तार गर्ने दाबी गर्छन् ।

यद्यपि स्थानीय तहबाट संघीय तहमा रूपान्तरण सहज नहुने चुनौती उनका अगाडि छ । प्रतिस्पर्धी दलका प्रभावशाली उम्मेदवारसँगको प्रतिस्पर्धा र स्थानीय उपलब्धिको संघीय स्तरमा परीक्षण पनि उनको यात्राका संवेदनशील पक्ष हुन् ।

वैचारिक रूपमा पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध देखिने थापा जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने धारणा राख्छन् । विकास, लोकतन्त्र र स्थानीय आवश्यकताबीच सन्तुलन कायम गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ ।

हाल नेकपा एमाले स्याङ्जाको संगठनमा सक्रिय भूमिका निर्वाह गरिरहेका थापा प्रतिनिधिसभा सदस्यका रूपमा स्याङ्जाको आवाज बलियो बनाउने लक्ष्यसहित चुनावी मैदानमा छन् । दुई कार्यकालको स्थानीय अनुभव बोकेर संघीय यात्रामा निस्किएका थापालाई मतदाताले कस्तो भरोसा दिन्छन् भन्ने चासो भने यतिबेला बढेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update