Syangja Dainik Media
स्याङ्जाबाट ट्याक्सीमा सवार चार जना लागूऔषधसहित पक्राउ

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा चेकजाँचका क्रममा ट्याक्सीमा सवार चार जना लागूऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ज २२९० नम्बरको ट्याक्सी रोकेको थियो । जाँचका क्रममा ट्याक्सीको सिटमुनि लुकाएर राखिएको अवस्थामा विभिन्न लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ३३ वर्षीय बिनोद वि.क., ३४ वर्षीय नरेन्द्र भुजेल, ३० वर्षीय मिलन गुरुङ र ३९ वर्षीय राजेन्द्र कामी रहेका छन् ।

प्रहरीका अनुसार ट्याक्सीबाट बुप्रेनोर्फिन इन्जेक्सन आईपी ६ एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड आईपी फेनेरगन ५ एम्पुल र डाइजेपाम इन्जेक्सन आईपी ५ एम्पुल बरामद गरिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update