स्याङ्जा क्षेत्र नम्बर १ मा यस पटकको प्रतिनिधिसभा निर्वाचनले पुराना अनुहार र नयाँ समीकरणबीच रोचक प्रतिस्पर्धाको संकेत दिएको छ । यही प्रतिस्पर्धामा १२ वर्षपछि पुनः उम्मेदवार बनेका छन् शैलेन्द्र घिमिरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घिमिरे यसअघि अरूलाई जिताउन रणनीतिक भूमिका खेलेका नेता हुन्, तर यसपटक भने उनी आफैं मतदाताको प्रत्यक्ष परीक्षणमा उत्रिएका छन् ।
अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरमा जन्मिएका ५१ वर्षीय घिमिरे राजनीतिक मात्र होइन, वैचारिक यात्राका कारण पनि चिनिने नाम हुन् । १० वर्षे सशस्त्र जनयुद्धताका ‘डोको रेडियो’ सञ्चालन गर्दै भूमिगत पत्रकारितामा सक्रिय उनी खुला राजनीतिमा आएपछि ‘लालरक्षक’ पत्रिकाको सम्पादन र ‘समाचार दैनिक’को सम्पादकीय मण्डलसम्म पुगे । पत्रकारिता र राजनीतिबीच सेतु जस्तै बनेका उनको परिचय अहिले पनि लेख–रचनामार्फत निरन्तर देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्म अध्ययन गरेका घिमिरेले २०७० सालमा यही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका थिए । त्यतिबेला तेस्रो स्थानमा सीमित भए पनि राजनीतिक धरातल छाडेनन् । २०७२ सालको संविधानसभा निर्वाचनमा पराजय बेहोरेपछि उनी संगठन निर्माणमा झन् सक्रिय बने । हाल उनी माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्जका रूपमा काम गरिरहेका छन् ।
२०७४ मा एमाले र २०७९ मा कांग्रेसलाई समर्थन गर्दै क्षेत्रका प्रतिनिधि विजयी गराउन भूमिका खेलेका घिमिरे यस पटक भने आफ्नै नाममा मत माग्दै घरदैलोमा छन् । स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्मको अनुभव बोकेका उनी आफूलाई ‘स्थानीय आवश्यकताबाट राष्ट्रिय नीतिसम्म जोड्ने पात्र’का रूपमा प्रस्तुत गर्छन् ।
उनको उम्मेदवारीलाई स्थानीय स्तरमा अर्थपूर्ण पुनरागमनका रूपमा हेरिएको छ । लामो राजनीतिक तथा वैचारिक अनुभव, क्षेत्रसँगको निरन्तर सम्बन्ध र पत्रकारिताबाट बनेको सार्वजनिक छवि उनको अनुकूल पक्ष मानिन्छ । तर अघिल्ला निर्वाचनको पराजय इतिहास, दलभित्रको विभाजन र स्थापित शक्तिसँगको प्रतिस्पर्धा चुनौतीका रूपमा उभिएका छन् ।
चुनावी मैदानमा उत्रँदा घिमिरे संगठन सुदृढीकरण र जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राख्ने बताउँछन् । सामाजिक तथा विकाससम्बन्धी कार्यक्रममा सक्रिय उपस्थिति जनाउँदै आएका उनले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका मुद्दा उठाउँदै आएका छन् ।
पत्रकारिताको अनुभव र राजनीतिक अभ्यास जोडिएको घिमिरेको यो पुनरागमनले स्याङ्जा–१ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ । डोको रेडियोबाट सुरु भएको उनको यात्रा प्रतिनिधिसभाको ढोकासम्म पुग्ने कि नपुग्ने भन्ने निर्णय अब मतदाताको हातमा छ ।





