स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा नयाँ पुस्ताको अनुहारका रूपमा झविलाल डुम्रे मैदानमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका ३३ वर्षीय डुम्रे आफूलाई वैकल्पिक राजनीतिक धारका प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गरिरहेका छन् ।
वालिङ नगरपालिका–१४, छोरेखर्कमा जन्मिएका डुम्रेले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । पोखरालाई कर्मथलो बनाएका उनी व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । जिल्लास्तरका विभिन्न सामाजिक तथा जनहितका कार्यक्रममा उनको सहभागिता देखिँदै आएको छ ।
राजनीतिमा भने उनी अपेक्षाकृत नयाँ अनुहार मानिन्छन् । तर पार्टी संगठनभित्र भने सक्रिय भूमिकामा छन् । हाल पार्टीको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारी सम्हालिरहेका डुम्रे संगठन विस्तार, संरचना सुदृढीकरण र कार्यकर्ता परिचालनमा केन्द्रित रहँदै आएका छन् । यही अनुभवलाई आधार बनाउँदै अब उनी स्याङ्जा–२ बाट संसद्मा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका हुन् ।
डुम्रे नयाँ पुस्ताको प्रतिनिधित्व र वैकल्पिक राजनीतिक सोचलाई आफ्नो मुख्य एजेन्डा बताउँछन् । परम्परागत राजनीतिक अभ्यासबाट असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयासमा उनी देखिन्छन् । स्थानीय समुदायसँग प्रत्यक्ष सम्बन्ध र संगठनात्मक सक्रियता उनको बलियो पक्ष मानिन्छ ।
यद्यपि, प्रत्यक्ष निर्वाचनको अनुभवको कमी उनलाई चुनौतीका रूपमा देखिन्छ । पार्टी संरचना अझै विस्तारको चरणमा रहेकाले प्रतिस्पर्धी दलहरूको तुलनामा संगठनात्मक जालो कमजोर हुन सक्ने विश्लेषण पनि छ । राष्ट्रिय मुद्दा र स्थानीय अपेक्षाबीच सन्तुलन मिलाउने परीक्षा पनि उनलाई उत्तिकै महत्वपूर्ण हुनेछ ।
डुम्रे भने आफू नीतिगत स्पष्टता र जनमुखी दृष्टिकोणका साथ अघि बढिरहेको बताउँछन् । पार्टीको नीति–सिद्धान्तलाई आधार मान्दै जनहितका विषयमा आवश्यक परे स्वतन्त्र ढंगले आवाज उठाउने प्रतिबद्धता उनको छ । राष्ट्रियता, लोकतन्त्र र विकासलाई सँगै अघि बढाउने आफ्नो प्राथमिकता रहेको उनी दाबी गर्छन् ।
पोखरामा कर्म र स्याङ्जामा सपना बोकेर चुनावी मैदानमा उत्रिएका डुम्रे यसपटकको निर्वाचनमा नयाँ पुस्ताको नेतृत्व खोज्ने मतदाताको रोजाइ बन्ने कि नबन्ने भन्ने निर्णय भने मतपेटिकाले गर्नेछ ।




