स्याङ्जाको पुतलीबजार नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार साँझ पुतलीबजार–१४ लामागेमा अन्दाजी ५५ वर्षीय ‘गुरुङ बुढा’ भनेर चिनिने पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सूचना लगत्तै खटिएको प्रहरी टोलीले ती पुरुषलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पुर्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनका अनुसार अस्पताल पुर्याएपछि चिकित्सकले राति उपचाररत ती पुरुषलाई मृत घोषणा गरेका थिए ।
हाल मृतकको शव प्रदेश अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । मृतकको स्थायी ठेगाना खुल्न नसकेको र आफन्तको पहिचान नभएकाले चिन्नुहुने व्यक्ति वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।




