स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि यसपटक नयाँ अनुहारको रूपमा डा. धनञ्जय रेग्मी मैदानमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका ५० वर्षीय रेग्मी बेथिति अन्त्य गर्दै सुशासन, पारदर्शिता र परिणाममुखी राजनीति स्थापनाको एजेन्डा बोकेर मतदातामाझ पुगेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५, पौवैगौंडेमा जन्मिएका रेग्मी प्रशासनिक र प्राज्ञिक पृष्ठभूमि भएका उम्मेदवार हुन् । उनी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । जापानको होक्काइदो विश्वविद्यालयबाट पर्यावरण पृथ्वी विज्ञानमा विद्यावारिधी गरेका उनले अमेरिका र जापानमा पोस्ट–डाक्टोरल अनुसन्धान तथा व्यावसायिक प्रशिक्षणसमेत लिएका छन् । हिमताल, ग्लेसियर, जलवायु परिवर्तन र वातावरणीय जोखिम उनका अध्ययनका प्रमुख क्षेत्र हुन् ।
सरकारी निकाय र मन्त्रीस्तरीय तहसँग नजिकबाट काम गर्ने क्रममा उनले नीति निर्माण र कार्यान्वयनबीचको दूरी नजिकबाट देख्ने अवसर पाए । “भाषण धेरै, काम थोरै; प्रतिबद्धता धेरै, जवाफदेहिता कम” भन्ने प्रवृत्तिले विकास र सुशासनलाई कमजोर बनाएको अनुभव सुनाउँदै उनी भन्छन्, “राम्रो सोच र योजना स्वार्थ, ढिलासुस्ती र भ्रष्टाचारको जालोमा अल्झिएको देखेपछि चुप लागेर बस्न सकिनँ ।” यही कारण आफू राजनीतिमा होमिएको उनको दाबी छ ।
रेग्मीको सबल पक्ष शिक्षित र प्रशासनिक अनुभव भएको उम्मेदवार हुनु, स्पष्ट दृष्टिकोण राख्नु र नयाँ पुस्ताको प्रतिनिधित्व गर्नु हो । तर बलियो संगठनात्मक संरचना नहुनु, प्रत्यक्ष राजनीतिक अनुभव सीमित हुनु र स्थापित दलका बलिया प्रतिस्पर्धी हुनु उनको चुनौतीका रूपमा देखिएको छ ।
स्याङ्जा–१ मा उनले नेपाली कांग्रेसका भरतराज ढकाल, नेकपा एमालेका मिनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर राना, उज्यालो नेपालका रविन्द्र मल्ल, श्रम संस्कृतिका पिरन गुरुङलगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका राजु थापा ३१ हजार ९९९ मतसहित निर्वाचित भएका थिए । एमालेका नारायण प्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याउँदा रास्वपाका बोधराज रेग्मीले ६ हजार ६५ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मत ल्याएको थियो । प्रत्यक्षतर्फभन्दा झन्डै दोब्बर मत पाउँदै रास्वपाले ११ हजार २७६ मत प्राप्त गरेको थियो । एमालेले २६ हजार १२ र कांग्रेसले २५ हजार ४३१ मत पाएका थिए ।
पछिल्लो चुनावी अंकगणितले स्याङ्जा–१ मा परम्परागत दलहरूको पकड देखाए पनि रास्वपाले समानुपातिकमा पाएको मतले वैकल्पिक शक्तिप्रति आकर्षण बढ्दो रहेको संकेत गरेको छ । यही आधारमा रेग्मी मतदातालाई “पुरानै शैली दोहोर्याउने कि नयाँ अभ्यास सुरु गर्ने” भन्ने प्रश्नसहित घरदैलोमा पुगेका छन् ।
आफूले देखेको प्रशासनिक बेथिति सुधार्न, निर्णय प्रक्रियालाई पारदर्शी बनाउन र परिणाममुखी कामलाई प्राथमिकता दिन सके मात्रै नागरिकको विश्वास फर्काउन सकिने उनको विश्वास छ । चुनावी मैदानमा उनी यही वाचासहित उत्रिएका छन् ।




