Syangja Dainik Media
सामाजिक र राजनीतिक आन्दोलनबाट उदाएका पदम चुनावी मैदानमा

प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट यसपटक सामाजिक र राजनीतिक आन्दोलनको पृष्ठभूमिबाट आएका पदमबहादुर विक चुनावी मैदानमा उत्रिएका छन् । ४५ वर्षीय विक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हुन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, विर्घामा जन्मिएका विकले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । औपचारिक पदमा नरहे पनि उनी लामो समयदेखि पार्टी संगठन निर्माण र जिल्लाका राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । २०५६ सालदेखि दलित आन्दोलन र माओवादी आन्दोलनमा समाहित हुँदै आएका विक पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

२१ फागुनमा हुने निर्वाचनलाई उनले केवल शक्ति परीक्षणका रूपमा नभई “स्याङ्जाको आवाज संसद्‍मा पुर्‍याउने अवसर” का रूपमा लिएको बताएका छन् । उनका अनुसार जिल्लाका ग्रामीण भेगका समस्या, युवा रोजगारी, शिक्षा र सामाजिक न्यायका मुद्दा आफ्ना प्राथमिकता हुन् ।

विकको उम्मेदवारीलाई आन्दोलनबाट आएको छवि, युवा उमेर, शैक्षिक योग्यता र समाजसेवी पृष्ठभूमिले बल पुर्‍याएको छ । विभिन्न कम्युनिस्ट धारबीचको एकीकरणले पनि उनलाई थप आधार दिएको उनका समर्थकहरू बताउँछन् ।

तर, चुनौतीहरू पनि कम छैनन् । स्याङ्जा–२ मा उनको संगठन तुलनात्मक रूपमा कमजोर मानिन्छ । संसदीय निर्वाचनको प्रत्यक्ष अनुभव नभएकाले चुनावी रणनीतिमा परिपक्वता देखाउनुपर्ने देखिन्छ । प्रतिस्पर्धी उम्मेदवारहरूको बलियो जनाधार पनि उनका लागि मुख्य अवरोधका रूपमा उभिएको छ ।

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङलाई समर्थन गरेका थिए । समानुपातिकतर्फ माओवादी केन्द्रले १ हजार ३३० र एकीकृत समाजवादीले ४१० मत प्राप्त गरेका थिए ।

यसपटक स्याङ्जा–२ मा विकले कांग्रेसका भागवतप्रकाश मल्ल, नेकपा एमालेका खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेसँग प्रतिस्पर्धा गर्दैछन् ।

सामाजिक आन्दोलनको पृष्ठभूमि बोकेर संसदीय राजनीतिमा पाइला टेक्न खोजिरहेका विकका लागि यो निर्वाचन अवसर र चुनौती दुवै बनेको छ । बलियो संगठन र अनुभवको अभावलाई चिर्दै मतदाताको विश्वास जित्न सके मात्र उनी संसद् यात्रा तय गर्न सफल हुनेछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update