Syangja Dainik Media
‘भरुवा बन्दुकदेखि फरार अभियुक्तसम्म’, स्याङ्जामा माघ महिनाका उत्कृष्ट प्रहरी बने कुल बहादुर मगर

जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा कार्यरत प्रहरी सहायक हवल्दार कुल बहादुर मगर २०८२ साल माघ महिनाका ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । कार्यालयको सांगठनिक नीति निर्देशनअनुसार आफ्नो जिम्मेवारीलाई इमान्दार, वफादार र कर्तव्यनिष्ठ ढंगले निर्वाह गर्दै उत्कृष्ट व्यावसायिक क्षमता प्रदर्शन गरेबापत उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, मगरले पछिल्लो समय अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सक्रियता देखाएका थिए । उनले विभिन्न सूचनाको संकलन र विश्लेषण गर्दै २०८२ साल पुस २६ गते तथा माघ १३ गते स्याङ्जाका विभिन्न स्थानबाट अवैध हातहतियार भरुवा बन्दुक, त्यससँग सम्बन्धित खरखजना, औजार तथा विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सफल भएका थिए ।

त्यसैगरी, विभिन्न मितिमा फरार रहेका कसूरदारहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने कार्यमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् । अपराध अनुसन्धान तथा नियन्त्रणमा निरन्तर खटिँदै आएका मगरको कार्यसम्पादनलाई मूल्यांकन गर्दै “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१” बमोजिम माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले मगरलाई बधाई दिँदै आगामी दिनमा समेत यही समर्पण र व्यावसायिकता कायम राख्न प्रेरित गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update