Syangja Dainik Media
संसद् प्रवेशको परीक्षामा मीनप्रसाद

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा स्याङ्जा क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ । यस क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मीनप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र सामाजिक क्षेत्रमा निरन्तर सक्रियताले उनलाई यसपटकको प्रतिस्पर्धामा चासोको केन्द्र बनाएको छ ।

पुतलीबजार नगरपालिका–९, कोल्मा बराहचौरका ६२ वर्षीय गुरुङ गण्डकी प्रदेशको राजनीतिक वृत्तमा परिचित नाम हुन् । उनी सानैदेखि सामाजिक चेतना र नेतृत्व क्षमताका कारण गाउँघरमा चिनिन्थे । संस्कार र परिवारको सरल जीवनशैलीले उनलाई जमिनसँग जोडिएको व्यक्तित्वका रूपमा उभ्याएको स्थानीय बताउँछन् ।

शिक्षालाई परिवर्तनको मूल आधार मान्ने गुरुङले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालय बाट बीएल उत्तीर्ण गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी अनेरास्ववियुमार्फत संगठित यात्रामा होमिएका थिए । २०३६ सालमै पार्टीको साधारण सदस्य बनेका उनले २०४७ साल माघ १० गते संगठित सदस्यता प्राप्त गरे ।

विद्यार्थी राजनीतिमा अनेरास्ववियुको स्याङ्जा जिल्ला समन्वय समितिका संस्थापक अध्यक्ष रहेका गुरुङ २०३६, २०४६ र २०६२/०६३ का आन्दोलनमा अग्रपंक्तिमा देखिएका थिए । परिवर्तनका प्रत्येक चरणमा सडक र संगठन दुवै मोर्चामा उनको उपस्थिति रहने गरेको सहकर्मीहरू स्मरण गर्छन् ।

पार्टी संरचनामा गाउँ कमिटी सचिवदेखि इलाका कमिटी सचिव, जिल्ला कमिटी अध्यक्ष हुँदै गण्डकी प्रदेश कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका गुरुङ हाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय प्रतिनिधि तथा नेपाल एसिया जनमैत्री समाजका केन्द्रीय सदस्य छन् ।

जनप्रतिनिधिका रूपमा पनि उनको यात्रा लामो छ । कोल्मा बराह गाविसका वडा सदस्य, स्याङ्जा जिल्ला विकास समिति सदस्य हुँदै गण्डकी प्रदेशसभा सदस्यसम्म पुगेका उनले विकास र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेको दाबी गर्छन् । स्थानीय पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकालाई उनका समर्थकहरू बलियो आधार मान्छन् ।

शिक्षा क्षेत्रमा उनको संलग्नता उल्लेखनीय छ । कोल्मा बराहचौर माध्यमिक विद्यालयका अध्यक्ष, उच्च माध्यमिक विद्यालयको सञ्चालक समिति सदस्य तथा सामुदायिक क्याम्पसका संस्थापक अध्यक्षका रूपमा उनले काम गरेका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष भइसकेका गुरुङ नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखासँग पनि आबद्ध छन् ।

त्यसैगरी लायन्स क्लब अफ सिर्जना चौतारी, सामुदायिक विद्युत् उपभोक्ता समिति तथा घुम्ती–चिसापानी–चित्रे मोटरबाटो निर्माण अभियानका संस्थापक सचिवका रूपमा उनको सक्रियता देखिएको थियो । भूमिसुधार आन्दोलनमा खेलेको भूमिकाका लागि उनी पश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट जनप्रतिनिधिका रूपमा सम्मानित भएका छन् भने अन्तर्राष्ट्रिय रेडक्रस संस्थाबाट समेत सम्मान प्राप्त गरिसकेका छन् ।

दीर्घ राजनीतिक अनुभव, संगठनात्मक पकड, शिक्षा र सामाजिक क्षेत्रमा योगदान तथा विकासमुखी छवि उनका मुख्य सबल पक्ष मानिन्छन् । जनप्रतिनिधिको अनुभवले मतदातामाझ उनको पहिचान बलियो रहेको विश्लेषण गरिन्छ ।

तर दलप्रति बढेको नकारात्मक धारणा, लामो राजनीतिक संलग्नताबाट उत्पन्न हुन सक्ने थकान वा परिवर्तनको चाहना र स्थानीय स्तरको प्रतिस्पर्धा तथा गुटगत समीकरण भने उनका लागि चुनौती बन्न सक्छन् ।

आफूलाई शिक्षाप्रेमी सोच, विकासप्रतिको प्रतिबद्धता र सामाजिक सेवाबाट चिनाउने गुरुङका लागि यसपटकको निर्वाचन ‘संसद् प्रवेशको परीक्षा’ जस्तै बनेको छ । स्याङ्जा–१ का मतदाताले उनको अनुभवलाई निरन्तरता दिन्छन् वा नयाँ विकल्प रोज्छन् भन्ने निर्णय २१ फागुनले गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update