आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा शुक्रबार अर्थात् आज मध्यरातदेखि मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ । अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म जिल्लाभर ‘ड्राइ डे’ लागू रहने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा बिक्री, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताए ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८, निर्वाचन आयोगको परिपत्र तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रतिबन्ध लागू गरिएको सहायक प्रजिअ सुवेदीको भनाइ छ । “आज राति १२ बजेदेखि अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न पाइने छैन,” प्रशासनले स्पष्ट पारेको छ ।
निर्वाचन अवधिभर शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल तथा मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार र सर्वसाधारण सबैलाई सहयोग गर्न आग्रह गरिएको छ । सूचनाको कार्यान्वयनका लागि सुरक्षा निकायबाट निगरानी बढाइने र उल्लंघन गर्ने उपर प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि स्याङ्जामा दुई लाख ४८ हजार ८१६ मतदाता कायम छन् । जिल्लाभर १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा मतदान हुनेछ ।





