Syangja Dainik Media
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड

स्याङ्जाको चापाकोट नगरपालिकामा यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उच्चस्तरीय सुरक्षा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । यस पालिकालाई अति संवेदनशील क्षेत्रको सूचीमा राखेर सुरक्षा तयारी तीव्र पारिएको जनाइएको छ ।

कार्यक्रममा गृह प्रशासनदेखि सुरक्षा निकायका शीर्ष अधिकारीहरूको उपस्थिति रहेको थियो । छलफलमा निर्वाचनको तयारी, सुरक्षा रणनीति, अन्तर–निकाय समन्वय र सम्भावित चुनौतीबारे विस्तृत समीक्षा गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका अति संवेदनशील क्षेत्रभित्र पर्ने उल्लेख गर्दै मतदान अवधिभर उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । मतदान केन्द्रको भित्री सुरक्षा घेरा मजबुत बनाउन, अपाङ्गता भएका मतदातालाई सहज वातावरण उपलब्ध गराउन तथा निर्वाचन विरोधी गतिविधिप्रति कडाइ गर्न उनले जोड दिए । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाहको निगरानी गर्दै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुने वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा संरक्षण गर्नुपर्ने, शंकास्पद वस्तु वा गतिविधि देखिए तत्काल सूचना आदानप्रदान गर्नुपर्ने र अवाञ्छित क्रियाकलापविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिइएको छ । सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न र मतदान अधिकृतलाई निष्पक्ष तथा पारदर्शी रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको थियो ।

गृह सचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन अनावश्यक स्वागत–सम्मान वा भड्किलो कार्यक्रम नगर्न सुझाव दिए । मतदातामाथि कुनै प्रकारको दबाब, प्रभाव वा कर नलगाउन सचेत गराउँदै सम्भावित विवाद न्यूनिकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने उनले बताए ।

निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियामा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, स्याङ्जा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतम, चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खाँण, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल तथा प्रदेश र जिल्ला तहका विभिन्न सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्दै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update