Syangja Dainik Media
स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रेको जित

स्याङ्जा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आइतबार दिउँसो सम्पन्न अन्तिम मतगणनाअनुसार उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत ॠषि पौडेलका अनुसार डुम्रेले कुल २५ हजार ३५४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका मल्लले २० हजार ८३० मत पाए । यससँगै डुम्रेले मल्ललाई ४ हजार ५२४ मतान्तरले पछि पार्दै विजयी बने ।

मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापा १४ हजार १०८ मतसहित तेस्रो स्थानमा रहे । नेपाल कम्युनिस्ट पार्टीका पदमबहादुर विकले ८४८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

वालिङ नगरपालिका–१४ निवासी डुम्रे पेशागत रूपमा पोखरालाई कर्मथलो बनाएर व्यवसायका साथै समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । स्नातकोत्तरसम्म अध्ययन गरेका उनले पोखरामा कर्म, स्याङ्जामा सपना बोकेर अघि बढेका उनी रास्वपाको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छन् ।

स्याङ्जा–२ अन्तर्गत कालीगण्डकी गाउँपालिका, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका–५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिका–१, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का मतदाताले मतदान गरेका थिए ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो । तीमध्ये २ हजार ६६२ मत बदर भएको बताइएको छ ।

पहिलो पटक निर्वाचन मैदानमा उत्रिएका डुम्रेको जितसँगै स्याङ्जा–२ मा रास्वपाले प्रतिनिधिसभामा आफ्नो उपस्थिति दर्ज गराएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update