Syangja Dainik Media
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जामा यसपटक पनि उल्लेख्य संख्यामा मत बदर भएको देखिएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रको अन्तिम मतगणना सकिँदा प्रत्यक्षतर्फ मात्रै ५ हजार ५७० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार निर्वाचन क्षेत्र नम्बर–१ र २ दुवै ठाउँमा बदर मतको संख्या उल्लेख्य देखिएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षाअनुसार बदर मत घट्न नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार क्षेत्र नम्बर–१ मा मात्रै २ हजार ९०८ मत बदर भएको छ । यस क्षेत्रमा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेकामा ७० हजार ९४४ मत खसेको थियो । तीमध्ये ६८ हजार ३६ मत मात्रै सदर भएको छ ।

त्यस्तै, क्षेत्र नम्बर–२ मा २ हजार ६६२ मत बदर भएको छ । यहाँ कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो । तीमध्ये ६२ हजार २६६ मत मात्र सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाउने, तोकिएको स्थानभन्दा बाहिर छाप लगाउने तथा खाली मतपत्र खसाल्ने जस्ता कारणले बदर मत बढेको अधिकारी थापाले बताए ।

समानुपातिकतर्फ पनि हजारौँ मत बदर

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि स्याङ्जामा बदर मतको संख्या कम छैन । निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख ३२ हजार ७४५ मतदाता रहेकामा ७२ हजार ९९ मत खसेको थियो । तीमध्ये २ हजार १३१ मत बदर भएको छ ।

त्यस्तै, क्षेत्र नम्बर–२ मा १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६५ हजार १३० मत खसेको थियो । त्यसमध्ये १ हजार ९९९ मत बदर भएको तथ्याङ्कले देखाएको छ ।

मतदाता शिक्षा अभियान सञ्चालन गरिए पनि बदर मतको संख्या अझै उल्लेख्य रहेको भन्दै आगामी निर्वाचनमा मतदाता सचेतनामा थप प्रभावकारी काम गर्नुपर्ने सरोकारवालाको सुझाव छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update