Syangja Dainik Media
निर्वाचन खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आग्रह

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन आग्रह गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवार बनेका सबैले कानुनअनुसार खर्च विवरण सार्वजनिक गर्नुपर्ने जनाएको हो ।

सूचनामा उल्लेख गरिएअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेश गर्न भनिएको छ ।

खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौं वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जारी गरेको सूचनामा सबै सम्बन्धित उम्मेदवारलाई तोकिएको प्रक्रियाअनुसार खर्च विवरण सार्वजनिक गरी पेश गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update