जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा एक फरार कसूरदारलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार कसूरदारलाई विशेष अप्रेसन टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।
पक्राउ पर्नेमा साबिक मनकामना गाविस–३ (हाल बिरुवा गाउँपालिका–८) बस्ने चन्द्रविर थापा रहेका छन् । उनीमाथि स्याङ्जा जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेको थियो ।
लामो समयदेखि फरार रहेका थापालाई पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तान तथा जरिवाना असुलीका लागि अदालतमा पेश गरेको प्रहरी निरीक्षक त्रिपाठीले बताए ।
साथै, अदालतका बाँकी फैसला कार्यान्वयनलाई अझ तीव्र बनाउने अभियान जारी रहने प्रहरीले जनाएको छ ।





