यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्याङ्जामा कम केन्द्रबाट सञ्चालन हुने भएको छ । विद्यार्थी सङ्ख्या घटेपछि परीक्षा केन्द्र संख्या घटाइएको हो ।
अघिल्लो वर्ष २४ वटा केन्द्र तोकिएकोमा यसपटक २१ वटा मात्रै कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए । गत वर्ष ४ हजार ९९२ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष त्यो संख्या घटेर ४ हजार २७५ मा झरेपछि केन्द्र घटाउनुपरेको उनले बताए ।
केन्द्र संख्या निर्धारण गर्दा विद्यार्थी सङ्ख्यालाई आधार बनाइए पनि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा केन्द्र राख्ने नीति अपनाइएकाले अझै घटाउने सम्भावना हुँदाहुँदै पनि केही केन्द्र कायम राख्नुपरेको आचार्यले उल्लेख गरे ।
यसक्रममा पुतलीबजार नगरपालिकास्थित सरस्वती मावि, वालिङ नगरपालिकाको बालसिद्ध मावि र अर्को एक सरस्वती माविमा रहेका केन्द्र हटाइएको छ ।
यस वर्ष जिल्लाभर फेदिखोला, आँधीखोला, अर्जुनचौपारी, हरिनास र बिरुवा गाउँपालिकामा एक–एक केन्द्र तोकिएका छन् भने कालीगण्डकी गाउँपालिका, भीरकोट, चापाकोट र गल्याङ नगरपालिकामा दुई–दुई केन्द्र रहनेछन् । पुतलीबजारमा तीन र वालिङमा सबैभन्दा बढी पाँच केन्द्र कायम गरिएको छ ।
परीक्षामा नियमिततर्फ ३ हजार २२१ र ग्रेडवृद्धितर्फ १ हजार ५४ गरी कुल ४ हजार २७५ विद्यार्थी सहभागी हुनेछन् । जसमध्ये २ हजार १०१ छात्रा र २ हजार १७४ छात्र रहेका छन् । सहभागीमध्ये ६ प्राविधिक विद्यालयका ११६ र ४ धार्मिक विद्यालयका १६ विद्यार्थी पनि समावेश छन् ।
परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापनबारे अन्तिम टुङ्गो लाग्न बाँकी रहेको भए पनि केन्द्राध्यक्ष भने सम्बन्धित विद्यालयकै प्रधानाध्यापक रहने तयारी गरिएको आचार्यले जानकारी दिए ।





