मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाका दुई विद्यालयका एक सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मंगलबार पुतलीबजार नगरपालिका–१४ स्थित श्रवण माध्यमिक विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई विद्यालय झोला उपलब्ध गराइएको बैंकका क्षेत्रीय उपप्रबन्धक ऋषीनाथ ढकालले जानकारी दिए ।
यससँगै पाणिनी आश्रम अन्तर्गत सञ्चालनमा रहेको पाणिनी संस्कृत गुरुकुलमका १६ जना बटुकलाई समेत झोला वितरण गरिएको उनले बताए । कार्यक्रममा गुरुकुलमलाई एक सेट कम्प्युटर पनि हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण गर्दै बैंकका सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले विद्यार्थीको अध्ययनप्रति रुचि बढाउने र शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षासहित सामग्री प्रदान गरिएको बताए ।
उनले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र वित्तीय सचेतनासँग सम्बन्धित गतिविधि निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रबन्धक ऋषीनाथ ढकाल, पञ्चमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्य लामिछाने र गुरुकुलका प्रधानाध्यापक देविसरा काफ्ले लगायतले मन्तव्य राखेका थिए ।





