यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २ सय २१ र ग्रेडवृद्धितर्फ १ हजार ५४ जना विद्यार्थी परीक्षा दिनेछन् ।
चैत्र १९ गतेबाट सुरु हुने परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा बढी देखिएको छ । कुल २ हजार १ सय ७४ छात्र सहभागी हुँदा छात्राको संख्या २ हजार १ सय १ मात्र रहेको छ । यसअनुसार छात्र संख्या ७३ जनाले बढी छ ।
प्राविधिक धारतर्फ जिल्लाका ६ विद्यालयबाट १ सय १६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । त्यसैगरी, संस्कृत तथा वेदविद्याश्रम धारतर्फ १६ जना विद्यार्थी परीक्षा दिने तयारीमा छन् ।
जिल्लाभर ११ स्थानीय तहमा गरी २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा सहायक प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार परीक्षा तयारीलाई तीव्र बनाइएको छ । केन्द्राध्यक्षसँग छलफल, केन्द्रको अनुगमन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । टाढाका केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको र बाँकी केन्द्रमा क्रमशः पठाइँदैछ ।
जिल्लामा सबैभन्दा धेरै ५ वटा परीक्षा केन्द्र वालिङ नगरपालिकामा छन् भने पुतलीबजारमा ३ वटा केन्द्र तोकिएका छन् । भीरकोट, गल्याङ र चापाकोट नगरपालिकामा २/२ केन्द्र छन् भने कालीगण्डकी गाउँपालिकामा पनि २ केन्द्र छन् । अन्य गाउँपालिकामा भने १/१ केन्द्र राखिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या घटेसँगै परीक्षा केन्द्र पनि घटाइएको छ । अघिल्लो वर्ष ४ हजार ९ सय ९२ विद्यार्थी सहभागी भएकोमा यस वर्ष ७ सय १७ जनाले कमी आएको हो । सोही आधारमा २५ बाट घटाएर २१ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएको जनाइएको छ ।
कार्यालयका अनुसार न्यूनतम विद्यार्थी संख्या नपुगेका केन्द्रहरू खारेज गरिएका हुन् । यस वर्ष सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन आदर्श मावि, पुतलीबजारमा रहेका छन् भने संस्थागततर्फ पायोनिअर्स मावि, वालिङमा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।





