स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता विवादबीच सम्पन्न भएको छ । आयोजकको व्यवस्थापन र निर्णायकको भूमिकामाथि खेलाडीहरू साथै दर्शकहरुले समेत गम्भीर प्रश्न उठाएका छन् ।
दरौँखोला युवा परिवारको आयोजनामा भएको प्रतियोगितामा गल्याङ नगरपालिका–७ को तोलातुङ्ग भलिबल क्लबले उपाधि जिते पनि खेल सञ्चालनको क्रममा भएका केही निर्णयहरू नियमअनुसार नभएको भन्दै सहभागी टोलीहरू असन्तुष्ट देखिएका छन् । राष्ट्रिय रेफ्रीबाट खेलाइएको प्रतियोगितामा पनि कुनैकुनै अङ्कमा निष्पक्षता नदेखिएको आरोप समेत लागेको छ ।
फाइनल खेलमा तोलातुङ्गले आयोजक ‘ए’ टिमलाई कडा प्रतिस्पर्धामा ३–२ को सेटमा २५–२३, २३–२५, १६–२५, २५–२३ र १२–१५ ले हराउँदै उपाधि जितेको हो । जितसँगै टोलीले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको आयोजक ‘ए’ टिमले भने ९१ हजार १११ रुपैयाँ, तेस्रो स्थान प्रदेशी हातेमालो क्लब बाग्लुङले हासिल गर्दै ३१ हजार १११ रुपैयाँ र आरुचौर भलिबल टिमले सान्त्वना स्वरूप ११ हजार १११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा तीन जना बाहिरी खेलाडी राख्न पाउने नियमका आधारमा विजेता तोलातुङ्गको टोलीमा गण्डकी प्रदेश टिमका चर्चित खेलाडीहरू सञ्जु विक्रम शाह, राजन दर्लामी मगर, विवश आले मगर र उमेश सेन्चुरी सहभागी थिए भने उपविजेता आयोजक ‘ए’ टिममा पनि गण्डकी प्रदेश टिमकै खेलाडीहरु हिमाल सुनारी मगर, विश्वास अधिकारी र सन्तोष विक सहभागी थिए ।
तेस्रो स्थान हासिल गरेको बागलुङको टिममा समेत गण्डकी प्रदेश टिमकै खेलाडीहरु जीवन सुनार र सन्जोग परियार सहभागी थिए । प्रतियोगितामा सहभागी विभिन्न टिममा त्रिभुवन आर्मी क्लबका खेलाडी दुर्गा महतो, सुरज सुनार, सनोज चौधरी र जीत बहादुर सार्की लगायतका खेलाडी समेत समावेश थिए ।
यस्तै, व्यक्तिगत विधागत पुरस्कारतर्फ पनि सन्तुलन नभएको गुनासो आएको छ । उत्कृष्ट खेलाडी विश्वास अधिकारी (आयोजक), उत्कृष्ट मिडल ब्लकर हिमाल सुनारी (आयोजक), उत्कृष्ट सेटर विवश आले मगर (तोलातुङ्ग), अनुशासित खेलाडी जीवन सुनार (बागलुङ), उत्कृष्ट स्पाइकर सन्जोग परियार (बागलुङ), उत्कृष्ट लिब्रो समिर कला (बागलुङ) र उदयमान खेलाडी प्रवेश क्षेत्री (आरुचौर) घोषित भएको क्लबका उपाध्यक्ष नवीन गुरुङले जानकारी दिए ।
यद्यपि, व्यक्तिगत विधागत पुरस्कार खेल प्रदर्शनीबाटै घोषित भए पनि विजेता टोलीका केही खेलाडीले अपेक्षाअनुसार अवसर नपाएको बताइएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीर कुमार पौडेलले गरेका थिए । हरेक वर्ष होलीको अवसरमा आयोजना हुने प्रतियोगिता यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण ढिलाइ भई चैत ४ गतेदेखि सञ्चालन गरिएको थियो, जसमा स्याङ्जा, पर्वत र बाग्लुङ जिल्लाका गरी १४ टोलीको सहभागिता रहेको थियो ।
यता आयोजकले नै प्रतियोगितामा भएका केही निर्णय विवादास्पद भएको स्वीकार गरेको छ । खेलका क्रममा केही निर्णयहरूलाई लिएर उठेका प्रश्नप्रति आयोजकले स्पष्टिकरण दिँदै ती निर्णयहरू सोचविचार गरेर नै गरिएको जनाएको छ । केही निर्णय विवादित भएको कुरा आफूहरूले पनि सुनेको उल्लेख गर्दै आयोजकले त्यस्ता निर्णयहरू परिस्थितिअनुसार लिइएको दाबी गरेको छ ।
खेलाडीलाई पुरस्कार वितरण गर्दा पनि केवल खेल प्रदर्शन मात्र नभई अनुशासनलाई समेत आधार मानेर निर्णय गरिएको आयोजकको भनाइ छ ।
तर प्रतियोगिता सकिएसँगै खेलाडी र दर्शकमाझ उठेका प्रश्नहरूले आयोजकको भूमिकामाथि गम्भीर बहस सुरु गराएको छ ।





