काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो छ महिनाको कार्यकाल पूरा गर्दै बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरणअघि गरिएको सम्बोधनमा उनले कठिन परिस्थितिबाट देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन आफ्नो नेतृत्व सफल भएको दाबी गरिन् ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछिको असहज अवस्थाबाट सरकार सम्हालेको स्मरण गर्दै उनले अब देश स्थिरता र आशातर्फ अघि बढेको बताइन् । “म आज पूर्ण आत्मविश्वासका साथ देशको उज्यालो भविष्य देखिरहेको छु,” उनले भनिन्, “जहाँ हाम्रो एकता र इमान्दारीले नयाँ इतिहास बनाउनेछ ।”
सम्बोधनको सुरुवातमै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाप्रति श्रद्धाञ्जली अर्पण गरिन् । घाइते भएका २ हजार ६ सयभन्दा बढीको स्वास्थ्य लाभको कामना गर्दै उनले पीडित परिवारलाई राज्यले साथ नछोड्ने प्रतिबद्धता जनाइन् । करिब ८४ अर्ब बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उनले पुनर्निर्माण र पुनरुत्थानमा सरकार प्रतिबद्ध रहेको बताइन् ।
आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै उनले फागुन २१ गते देशभर एकै चरणमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई ऐतिहासिक उपलब्धि बताइन् । निर्वाचन आयोग, सुरक्षा निकाय र मतदाताको सक्रियताले शान्तिपूर्ण मतदान सम्भव भएको भन्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरिन् ।
सुशासनतर्फ पनि केही आधार निर्माण भएको उनको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाइएको उल्लेख गर्दै उनले कानुनी शासन मजबुत बनाउने प्रयास गरिएको बताइन् ।
मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको सम्झौताका बाँकी काम नयाँ सरकारले अघि बढाउने विश्वास व्यक्त गर्दै उनले त्यससम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइसकेको जानकारी दिइन् । साथै, प्रभावित उद्योग–व्यवसायलाई राहत दिन ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ लागू गरिएको उनले उल्लेख गरिन् ।
नयाँ सरकारलाई शुभकामना दिँदै कार्कीले भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनामा ठोस उपलब्धि हासिल गर्ने अपेक्षा राखिन् । आफ्नो कार्यकालमा खराब नियतले कुनै निर्णय नगरेको बताउँदै उनले कमजोरी भए त्यसको जिम्मेवारी आफूले लिने तर उपलब्धिको श्रेय जनतालाई जाने उल्लेख गरिन् ।





