Syangja Dainik Media
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

स्याङ्जाको भीरकोट नगरपालिका अन्तर्गत सञ्चालित भीरकोट नगर अस्पताल पछिल्लो समय उल्लेखनीय सुधारसहित स्थानीयको भरोसाको केन्द्र बन्दै गएको छ । व्यवस्थापनमा सुधार, सेवा विस्तार र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै अस्पतालमा आउने सेवाग्राहीको संख्या ह्वात्तै बढेको हो ।

केही वर्षअघिसम्म न्यून बिरामी आउने यो अस्पताल अहिले दैनिक सयभन्दा बढी बिरामीले सेवा लिने अवस्थामा पुगेको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पतालको स्तरोन्नतिमा जोड दिँदा यस्तो परिवर्तन देखिएको हो ।

नगरप्रमुख गोविन्द कुमार कर्माचार्यका अनुसार अस्पतालमा भौतिक संरचना विस्तार, सेवा सुविधा वृद्धि र आधुनिक उपकरण जडानको काम तीव्र रूपमा अघि बढिरहेको छ । “अस्पताललाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउने हाम्रो लक्ष्य हो,” उनले भने ।

अस्पतालले आगामी जेठदेखि डायलोसिस सेवा सञ्चालन गर्ने तयारीसमेत गरेको छ । यसका लागि अत्याधुनिक दुईवटा मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको छ । सेवा सुरु भएपछि मिर्गौला रोगी बिरामीलाई बाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । साथै, भविष्यमा क्यान्सर उपचारका लागि रेडियोथेरापी सेवा विस्तार गर्ने योजना पनि अस्पतालले बनाएको छ ।

अस्पतालमा सुधारसँगै स्थानीयबासीमा सकारात्मक प्रभाव परेको छ । सामान्य उपचारका लागि समेत अन्यत्र धाउनुपर्ने अवस्था घट्दै गएको सेवाग्राहीहरू बताउँछन् । यसले समय र खर्च दुवै बचत भएको उनीहरूको अनुभव छ ।

यसैबीच, नगरपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई पनि निरन्तरता दिएको छ । मनमोहन मेमोरियल शिक्षण अस्पतालको सहकार्यमा गत चैत ७ गते गरिएको शिविरमा चार सयभन्दा बढी नागरिकले सेवा लिएका थिए । शिविरमा हाडजोर्नी, नसा, मानसिक स्वास्थ्य, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, जनरल मेडिसिन र दन्तसम्बन्धी सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविरका टोली प्रमुख डा. मनोहर सिङ सैयदले ग्रामीण क्षेत्रमा सहज रूपमा सेवा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताए । त्यस्तै, पोखरास्थित फेवासिटी हस्पिटलका हाडजोर्नी विशेषज्ञ डा. दिनेश वि.क.ले विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल अस्पतालमा ओपीडी, फार्मेसी, प्रयोगशाला, एक्स-रे, अल्ट्रासाउन्ड, सामान्य शल्यक्रिया, दन्त सेवा, परिवार नियोजन, गर्भजाँच, प्रसूति सेवा तथा क्षयरोग परीक्षण जस्ता सेवाहरू नियमित सञ्चालनमा छन् । साथै, २४ घण्टा आपतकालीन, फार्मेसी र प्रसूति सेवा उपलब्ध हुनु अस्पतालको अर्को विशेषता हो ।

भीरकोट अस्पतालबाट अहिले अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकले सेवा लिइरहेका छन् । तीनवटै पालिकाबीच समन्वय गरी जनशक्ति थप्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ ।

अस्पतालले अक्सिजन उत्पादनमा आत्मनिर्भरता हासिल गर्नुका साथै परिसरको सरसफाइ र बगैंचा व्यवस्थापनमा सुधार ल्याएर वातावरणलाई समेत आकर्षक बनाएको छ ।

समग्रमा, भीरकोट नगर अस्पतालले पछिल्लो समय देखाएको परिवर्तनले स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश दिएको छ । आगामी दिनमा थप सुविधा विस्तारसँगै अस्पताल जिल्लाकै नमुना स्वास्थ्य संस्थाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update