सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित गरिएको चेकजाँचका क्रममा लागूऔषध सेवन गरेर सवारी साधन चलाइरहेका चार जना चालकलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेहरूमा तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय मोहन थापा, पाल्पाको तानसेन नगरपालिका–२ का २० वर्षीय विपिन कुँवर, स्याङ्जाको भीरकोट नगरपालिका–१ का २० वर्षीय प्रमिस केसी र कास्कीको पोखरा महानगरपालिका–११ का ४३ वर्षीय रिकेश परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले सोमबार दिउँसो पुतलीबजार नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गको बसपार्क क्षेत्रमा सवारी चेकजाँच गरेको थियो । सो क्रममा निजी तथा सार्वजनिक सवारी चालकको लागूऔषध परीक्षण गर्दा चार जनामा लागू पदार्थ सेवन गरेको पुष्टि भएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनीहरूले चलाइरहेका गाडीमध्ये बोलेरो जीप, दुई वटा मोटरसाइकल र एउटा हाईस रहेको छ । चेकजाँचका क्रममा दुई जना चालकबाट करिब ५–५ ग्राम गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गरेर सवारी चलाउनु गम्भीर कानुनी अपराध भएको बताउँदै सूचना अधिकारी चौधरीले यस्तो गतिविधिले दुर्घटनाको जोखिम बढाउने भएकाले नियमित निगरानी र कारबाहीलाई अझ कडाइ गरिने बताए । पछिल्लो समय स्याङ्जाका विभिन्न स्थानमा सवारी चेकजाँचलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालकहरूलाई सचेत गराउने, परीक्षण गर्ने र नियम उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्ने अभियान निरन्तर सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले बताए । प्रहरीले यात्रु र चालक दुवैलाई जिम्मेवार र सचेत भएर यात्रा गर्न समेत आग्रह गरेको छ ।





