बहिरा तथा श्रवण सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई कृषि क्षेत्रमा सक्षम बनाउने उद्देश्यले स्याङ्जामा तीन दिने तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आर्थिक सहयोग र स्याङ्जा बहिरा संघको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिममा सहभागीहरूलाई तरकारी खेती, अन्नबाली उत्पादन, प्राङ्गारिक मल बनाउने तरिका र त्यसको प्रयोगबारे व्यवहारिक ज्ञान दिइएको थियो । कृषि विकास कार्यालय स्याङ्जाका प्राविधिकहरूको सहयोगमा सञ्चालन गरिएको तालिममा वरिष्ठ कृषि अधिकृत अजय अधिकारी, कृषि अधिकृत सन्दीप रसाइली तथा बाली संरक्षण अधिकृत अम्बादत्त विष्टले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले कृषिप्रधान देशमा यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरू हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै उनीहरूको हकअधिकार सुनिश्चित गर्न प्रदेश सभामा निरन्तर आवाज उठाइरहेको जानकारी दिइन् ।
कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख प्रकाश वस्तीले सहभागीहरूको कृषि प्रतिको रुचिले व्यवसायिक र आधुनिक कृषिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यस्तै, एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले लक्षित वर्गको सशक्तिकरण गर्दै जीवनयापन सहज बनाउन कार्यक्रम सञ्चालन गरिएको बताए ।
तीन दिनसम्म चलेको तालिममा ३० जना श्रवण अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दोभाषेको भूमिका लक्ष्मी श्रेष्ठ र सुशिला रेग्मीले निर्वाह गरेका थिए ।





