Syangja Dainik Media
आमा समूहमार्फत समाज रूपान्तरण सम्भव : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दुकुमार थापाले आमा समूहहरूलाई समाज परिवर्तनका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन् । उनले समुदायस्तरमा महिलाको सक्रियता बढेसँगै आर्थिक तथा सामाजिक रुपान्तरणलाई गति मिलेको उल्लेख गरे ।

एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका वडा नं. ५  जुग्लेमा सञ्चालन भएको आमा समूहका सदस्यहरूको नेतृत्व विकास कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकार महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गरिरहेको बताए ।

उनका अनुसार सामाजिक न्याय र समानतामूलक समाज निर्माणका लागि पछाडि परेका वर्ग र ग्रामीण भेगलाई लक्षित गर्दै उद्यमशीलता, प्राविधिक शिक्षा र नेतृत्व विकासका कार्यक्रम अघि बढाइएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले आमा समूहहरूले समुदायमा खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् । वडा नं. ५ का अध्यक्ष कृषि प्रसाद पनेरुले संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्वलाई व्यवहारमा उतार्न महिलाहरू आफैं सक्षम र सक्रिय बन्नुपर्ने धारणा राखे ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बदलिँदो समयसँगै समुदायका आवश्यकता पनि परिवर्तन भइरहेकाले आमा समूहका सदस्यहरूमा योजना निर्माण, निर्णय क्षमता र व्यवस्थापन सीप आवश्यक रहेको बताए । उनले आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता कुञ्जना परियार प्यासीले महिला अधिकार, कानुनी ज्ञान र नेतृत्व विकासका विषयमा कार्यपत्र प्रस्तुत गरिन् भने प्रदेश अस्पताल स्याङ्जाको एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता न्यौपानेले महिला हिंसा तथा उद्धार–पुनर्स्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गरिन् ।

यसैगरी, जीवन विज्ञान केन्द्र स्याङ्जाले सहभागीहरूलाई योग, ध्यान र सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।

जागृती र जुग्ले आमा समूहको सहकार्यमा आयोजित कार्यक्रममा सिद्धेश्वरी र प्रगतिशील आमा समूहका सदस्यहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा महिला अधिकार र सशक्तिकरणसँग सम्बन्धित गीत, कविता र नृत्य प्रस्तुत गर्ने सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

एक सयभन्दा बढी महिला तथा शिक्षिकाहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्मृति काफ्लेले गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update