Syangja Dainik Media
वैशाख १ देखि अर्जुनचौपारीमा चौथो वडा स्तरीय भलिबल प्रतियोगिता सुरु हुने

नयाँ वर्ष २०८३ को अवसर पारेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा चौथो खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

यहाँको गुप्तेश्वर युवा क्लबको आयोजनामा वैशाख १ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक शेर बहादुर परियारले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ६१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । तेस्रो हुने टिमलाई २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टिमलाई ११ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने खेल संयोजक परियारले बताए ।

त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट क्विकर र उत्कृष्ट सेटरलाई पनि ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएकाले स्थानीयस्तरमा खेलकुद र संस्कृतिको प्रवर्द्धन हुने विश्वास गरिएको क्लबका अध्यक्ष हिमेश परियारले बताए ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update