स्याङ्जाको पुतलीबजार नगरपालिकाले सुँगुर, बंगुर तथा जंगली बँदेलको ओसारपसारमा तत्काल प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाको वडा नम्बर १४ लामागेस्थित एक बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि रोग फैलिन नदिन यस्तो निर्णय गरिएको हो ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ अनुसार अर्को सूचना जारी नभएसम्म नगरक्षेत्रबाट सुँगुर तथा बंगुर प्रजातिका जीवजन्तु र तिनसँग सम्बन्धित सामग्री अन्यत्र लैजान वा भित्र्याउन रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए ।
अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक रोग मानिन्छ । यो रोग घरपालुवा सुँगुर, बंगुर र जंगली बँदेलमा छिटो फैलिने भएकाले समयमै नियन्त्रण नगरे महामारीको रूप लिन सक्ने जोखिम रहेको जनाइएको छ ।
नगरपालिकाले किसान, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै रोग नियन्त्रण र रोकथामका लागि आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।





