Syangja Dainik Media
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा भीरकोटका एक पुरुष पक्राउ

स्याङ्जाको भीरकोट नगरपालिका–७ पासिनडाँडाका ४६ वर्षीय चिरञ्जिवि खत्री पक्राउ परेका छन् । उनीमाथि ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बालिकालाई प्रलोभनमा पारेर गत फागुन १८ गते पहिलो पटक दुर्व्यवहार गरिएको र त्यसपछि पनि पटक–पटक यौन हिंसा भएको भन्दै फागुन २५ गते उजुरी परेको थियो ।

उजुरी दर्ता भएपछि आरोपी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनलाई सोही दिन साँझ वीरगञ्जबाट पक्राउ गरी स्याङ्जा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । हाल खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

नाबालिकासँग सम्बन्धित संवेदनशील प्रकृतिको मुद्दा भएकाले आवश्यक सावधानी अपनाएर अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । पक्राउ परेका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update