Syangja Dainik Media
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ट्याक्सी चोकबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१ का ४० वर्षीय फारूक अली र पुतलीबजार–४ का २५ वर्षीय निशान थापा रहेका छन् ।

उनीहरुलाई आइतबार दिउँसो लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गरेको विशेष अप्रेसनमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

आइतबार दिउँसो पुतलीबजार नगरपालिका–१ ट्याक्सी चोक क्षेत्रमा रहेको अलीको घरमा छापा मार्दा उनको घरबाट लागूऔषधका रूपमा प्रयोग हुने डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसूरमा स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले लागूऔषध कारोबारविरुद्ध विशेष निगरानी र अप्रेसनलाई अझ कडाइका साथ अघि बढाइएको समेत बताएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update