Syangja Dainik Media
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

स्याङ्जाको हरिनास गाउँपालिकामा आजदेखि आठौं वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

गाउँपालिका खेलकुद विकास समितिको सहयोगमा हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन खेल समावेश गरिएका छन् । प्रतियोगितामा विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

पुरुष भलिबलतर्फ विजेताले ७० हजार रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, भेट्रान्स भलिबलतर्फ विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष ब्याडमिन्टनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार पाँच सय, ५ हजार र २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

भलिबल प्रतियोगिता गाउँपालिका–४ रोदीखोलास्थित खेलमैदानमा र ब्याडमिन्टन प्रतियोगिता गाउँपालिका–६ क्याम्कीस्थित खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।

यस प्रतियोगिताले गाउँपालिकाभित्रका खेलाडीहरूलाई प्रोत्साहन गर्ने र वडा-वडा बिच खेलकुदको सम्बन्ध बढाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update