स्याङ्जाको वालिङमा माओवादी द्वन्द्वकालको सम्झना बोकेको पुरानो प्रहरी भवन हटाएर नयाँ सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ । तत्कालीन विद्रोही माओवादीले २०५८ साल मङ्सिर ८ गते आक्रमण गरेको भवनमै वर्षौंदेखि सेवा सञ्चालन हुँदै आएको थियो ।
आक्रमणपछि क्षतिग्रस्त बनेको भवनलाई सामान्य मर्मत गरेर प्रहरीले काम चलाउँदै आएको थियो । अहिले भने सोही भवन भत्काएर आधुनिक संरचना निर्माणको काम तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगामी असोज ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रुपन्देहीको सपना सुन्दरी जेभीसँग सम्झौता गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । अहिले निर्माण कार्य धमाधम भइरहेको उनले बताए ।
निर्माणाधीन भवन तीन तले हुनेछ । भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, थुनुवा कक्ष लगायत आवश्यक सेवा सुविधा रहने लेखा अधिकृत प्रदीप गिरीले जानकारी दिए । सङ्घीय सरकारको तीन करोड ७० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । प्रारम्भिक डिपिआर भने झण्डै पाँच करोडको तयार पारिएको थियो ।
वडा प्रहरी कार्यालय वालिङ अन्तर्गत वालिङ, भीरकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका क्षेत्र पर्दछन् । यस अन्तर्गत १३ वटा प्रहरी कार्यालय तथा युनिट सञ्चालनमा छन् ।
हाल कार्यालयको सेवा केही वर्षअघि निर्माण गरिएको प्रहरी आवास भवनबाट सञ्चालन हुँदै आएको छ । सिद्धार्थ राजमार्गको ठूलो हिस्सा यही कार्यालयको कार्यक्षेत्रमा पर्ने भएकाले सुरक्षा गतिविधि पनि बढी हुने गरेको प्रहरीले जनाएको छ ।





